२५ जेष्ठ २०८३, सोमबार | June 8, 2026

इरान-इजरायल तनाव चुलियो : क्षेप्यास्त्र प्रहारपछि हवाई क्षेत्र बन्द, ट्रम्पले संयमता अपनाउन आग्रह



काठमाडौं । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएको पछिल्लो प्रहारलाई ‘प्रारम्भिक चेतावनी’ मात्र भएको जनाएको छ ।

इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा अवस्थाको मूल्यांकनपछि अर्को सूचना जारी नभएसम्म देशको पश्चिमी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको जानकारी दिएका छन् ।

क्षेत्रीय सुरक्षालाई मध्यनजर गर्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

आईआरजीसीले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायलविरुद्ध गरिएका हालका आक्रमणहरू सम्भावित थप सैन्य कारबाहीको प्रारम्भिक चेतावनी भएको उल्लेख गरेको छ । साथै, इजरायलले आक्रमण जारी राखेमा क्षेत्रभर रहेका अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक संरचनाहरूलाई निशाना बनाइने चेतावनीसमेत दिएको छ ।

इरानको खातम अल-अम्बिया केन्द्रीय कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले इजरायलले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा भइरहेको सैन्य कारबाही तत्काल रोक्नुपर्ने बताएका छन् ।

उनले चेतावनी दिँदै भने, “यदि इजरायलले आफ्नो सैन्य कारबाही विस्तार गर्‍यो वा इरानको कदमको जवाफ दियो भने उसले अझ विनाशकारी र पछुताउनुपर्ने खालका आक्रमणहरूको सामना गर्नुपर्नेछ ।”

इजरायलको दाबी : ‘इरानी क्षेप्यास्त्र बीचमै रोक्यौं’

यसैबीच, इजरायली सेनाले इरानबाट प्रहार गरिएका दुई चरणका क्षेप्यास्त्र आक्रमणहरू सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा इजरायली सेनाले हालसम्म प्रहार गरिएका सबै क्षेप्यास्त्रहरूलाई हवाई रक्षा प्रणालीमार्फत बीचमै रोकेको जनाएको छ ।

सेनाले थप क्षेप्यास्त्र आक्रमणको सम्भावना रहेको उल्लेख गर्दै हवाई रक्षा प्रणालीहरू उच्च सतर्कताका साथ सक्रिय राखिएको जनाएको छ ।

ट्रम्पको आग्रह : ‘अब थप आक्रमण आवश्यक छैन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको सैन्य तनाव थप नबढाउन आग्रह गरेका छन् । अनलाइन समाचार माध्यम एक्सियोससँगको अन्तर्वार्तामा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुरा गरेर थप जवाफी कारबाही नगर्न सुझाव दिने बताएका हुन् ।

नेतन्याहूको उपनाम उल्लेख गर्दै ट्रम्पले भने, “म अहिले नै बीबीलाई फोन गरेर थप जवाफी कारबाही नगर्न भन्नेछु ।” उनले पछिल्ला घटनाक्रमबारे टिप्पणी गर्दै दुवै पक्षले आफ्नो प्रतिक्रिया दिइसकेको र अब थप आक्रमण आवश्यक नभएको बताए ।

“इजरायलले आक्रमण गर्‍यो, इरानले पनि जवाफ दियो । अब थप आक्रमणको आवश्यकता छैन,” ट्रम्पले भने ।

उनले थपे, “आशा छ इजरायलले फेरि आक्रमण गर्ने छैन । यदि बीबीले पुनः हमला गरे भने प्रतिशोधको यो शृंखला विगत ४७ वर्षदेखि जस्तै निरन्तर चलिरहनेछ ।”

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ८ : ३१ बजे

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकल कलेजमाथि सरकारले थाल्यो कारबाही प्रक्रिया

काठमाडौँ । स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल

आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा दिगो आर्थिक स्रोतको व्यवस्थापन हुन

नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको नियुक्ति फिर्ता लिन जसपा नेपालको माग

नेपालगन्ज । जसपा नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई

विद्युत् महसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई