काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट आफू र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नियोजित रूपमा आक्रमण भइरहेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले ठूलो वित्तीय अपराधको छानबिन अघि बढाएपछि त्यसमा संलग्न समूह असन्तुष्ट बनेको दाबी गरे ।
“प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,” उनले भने, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनभित्र यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित-पोषित व्यक्तिहरूले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन् भन्ने शंका लागेको छ ।”
अर्थमन्त्री वाग्लेले वित्तीय अपराधमा संलग्न समूहले विभिन्न माध्यमबाट भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको दाबी गर्दै त्यस्ता गतिविधिबाट प्रभावित नहुन सांसदहरूलाई आग्रह गरे ।
उनले सार्वभौम संसदको गरिमा जोगाउन सबै राजनीतिक दल र सांसदहरू जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै हल्ला र अफवाहका आधारमा संसदलाई कमजोर बनाउन नहुने बताए ।
सरकारले वित्तीय अनियमितता र आर्थिक अपराधविरुद्धको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले छानबिन प्रक्रिया कानुनी रूपमा अगाडि बढिरहेको जानकारी दिए ।



















प्रतिक्रिया