काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ।
पार्टीले प्रतिनिधि दर्ता शुल्क, सदस्य तथा शुभेच्छुकहरूको सहयोग र विभिन्न सेवा प्रदायकबाट प्राप्त हुने सहुलियतमार्फत उक्त खर्च व्यवस्थापन गर्ने योजना बनाएको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशन सञ्चालनका लागि आवश्यक बजेट जुटाउने तयारीबारे जानकारी दिएका हुन्।
उनका अनुसार महाधिवेशनको प्रमुख आर्थिक स्रोत प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क तथा पार्टीका सदस्य, समर्थक र शुभेच्छुकहरूबाट प्राप्त हुने सहयोग हुनेछ। साथै महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने विभिन्न सेवा प्रदायक संस्थासँग लागत घटाउने विषयमा छलफल भइरहेको उनले बताए।
बुर्लाकोटीका अनुसार केही सेवा प्रदायकहरूले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेका छन्। विशेषगरी क्याटरिङजस्ता बढी खर्च लाग्ने क्षेत्रमा व्यवसायीहरूले लागतका आधारमा मात्रै शुल्क लिने प्रतिबद्धता जनाएका छन्।
‘महाधिवेशनको खर्च करिब ४ करोड रुपैयाँ हुने अनुमान छ। त्यसको केही हिस्सा प्रतिनिधिहरूको दर्ता शुल्कबाट जुट्छ भने बाँकी रकम पार्टीका सदस्य र शुभेच्छुकहरूको सहयोगबाट व्यवस्थापन हुन्छ,’ उनले भने, ‘विभिन्न सेवा प्रदायकहरूसँग सहुलियतका विषयमा छलफल भइरहेको छ। कतिपयले नाफा नलिई सेवा दिने प्रस्ताव गरेका छन्।’
उनले पार्टी कार्यकर्ता र समर्थकहरूमा देखिएको उत्साह तथा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आर्थिक आधार बलियो बनेको पनि बताए।
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र असार ७ गते भरतपुरस्थित गेस्ट हाउस मैदानमा हुनेछ भने असार ८ र ९ गते उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन गरिनेछ।
महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा एक जना सभापति र ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ। त्यसपछि निर्वाचित सदस्यहरूबाट दोस्रो चरणमा तीन उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री चयन गरिने पार्टीले जनाएको छ।



















प्रतिक्रिया