९ भदौ २०८३, मंगलबार | August 26, 2026

रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह



नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु भएको छ ।

रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार ७ गते बिहानसम्म जारी रहनेछ । चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न सर्कुलर जारी गरिएको उनको भनाइ छ ।

महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भएकाले सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि सहभागीहरूलाई पिउने पानी, छाता तथा हल्का कपडा साथमा ल्याउन सुझाव दिइएको छ ।

महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने र अन्य शुभेच्छुक तथा कार्यकर्तासमेत आउने भएकाले उनको भनाइ छ ।

रास्वपाका केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन संयोजक राजन गौतमले जिल्ला–जिल्लाबाट नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम जारी रहेको बताएका छन् । उनका अनुसार चितवनका होटल तथा आवास व्यवसायीसँग समन्वय गरी सुलभ दररेट कायम गरिएको छ र त्यससम्बन्धी जानकारी सहभागीहरूलाई उपलब्ध गराइएको छ ।

सहभागीहरूले आफ्नो रुचिअनुसार होटल बुकिङ गरिसकेको जानकारी दिँदै उनले महाधिवेशनस्थलमै खानाको व्यवस्था गरिने बताए। गौतमका अनुसार प्रतिनिधि तथा पर्यवेक्षकमध्ये करिब ८० प्रतिशतले होटल बुकिङ गरिसकेका छन् । महाधिवेशनका क्रममा चितवनका तीन हजारभन्दा बढी होटल कोठा प्रतिनिधि र पर्यवेक्षकले भरिने अनुमान गरिएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षकलाई लक्षित गरी चितवनका होटलहरूले विशेष छुटको व्यवस्था गरेका छन् । होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घ चितवनले आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशतसम्म छुट दिने भएका हुन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवास खर्च आफैं व्यहोर्ने व्यवस्था गरिएको छ ।

घाम पानी रोक्न जर्मन ह्याङ्गर

भरतपुरमा यतिबेला गर्मीको मौसम छ । महाधिवेशन स्थलमा चर्को घाम र हुनसक्ने वर्षाबाट बच्न उद्घाटन स्थलमा जर्मन ह्याङ्गर प्रयोग गरिएको छ । भरतपुरको गेस्टहाउस चौरमा प्रतिनिधि, परिवेक्षक र नेता कार्यकर्ताका लागि ३० हजार स्क्वायर फिटको जर्मन ह्याङ्गर जडान गरिएको हो ।

मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराइका अनुसार बीचमा २० फिट चौडाई र ७५ फिट लम्बाईको छानो भएको ह्याङ्गर जडान गरिएको छ । दुवैतर्फ २० फिट लम्बाई र ३० फिट चौडाईका एक–एक वटा ह्याङ्गर जडान गरिएको छ । ती ह्याङ्गर बीचमा २४ फिट र छेउ छेउमा १४ फिट अग्ला छन् । यो संरचनामा १५ हजार जना अट्ने भट्टराई बताउनुहुन्छ । अन्य खाली ठाउँमा प्यागोडा शैलीका क्यानोपी टेण्ट राखिने छ ।

जर्मन ह्याङ्गरभित्र महिला, जेष्ठनागरिक र असहायका लागि दुई हजारको हाराहारीमा कुर्सी राखिनेछ । बाँकी ठाउँमा चौरमा बस्ने व्यवस्था गरिनेछ । चार वटा एलईडी स्क्रिन पनि जडान गरिनेछ ।

जर्मन ह्याङ्गर अस्थायी किसिमको बलियो टेन्ट हो । भट्टराईले भने, “ह्याङ्गर अल्मुनियमको संरचनामा ‘टेनसाइल फेब्रिक’को छानो राखेर बनाइएको हुन्छ ।” यो आगलागी नहुने घामपानी, हुरीबतासबाट जोगिने किसिमको भएको उनले जानकारी दिए।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार उद्घाटन सत्रमा ३० हजार हाराहारीमा सहभागी हुने अनुमान छ । उद्घाटनका दिन आउनेहरुका लागि छुट्टै पार्किङको व्यवस्था गरिएको छ ।

पूर्वबाट आउने सवारी साधनलाई केन्द्रीय बस ट्रमिनल र अन्य क्षेत्रबाट आउने सवारी साधन वीरेन्द्र बहुमुखी क्याम्पसको बाइपास सडकतर्फको चौरमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ११ : ५२ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त