९ भदौ २०८३, मंगलबार | August 26, 2026

रैथाने गाई सङ्कटमा



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्कका आधारमा धवलागिरिमा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ ।

विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा गाईगोरु ६ हजार ७५६, रागाभैँसी दुई हजार ३८३, बाख्रा तीन हजार ६६४, भेडा दुई हजार २८ तथा घोडा २२९ रहेका थिए । सात वडा रहेको धवलागिरिमा हाल गाई चार हजार ४११, भैसी दुई हजार ८४७, बाख्रा पाँच जहार ९८६, भेडा दुई हजार १९५, बङ्गुर ११९, कुखुरा १६ हजार २२६, खरायो ६७० तथा घोडा खच्चर २६६ को सङ्ख्यामा रहेका गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालले बताईन ।

नयाँ पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुँदा जीविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना भए पनि दुःख गर्नुपर्ने भएका कारण नयाँ पुस्ताको आकर्षण कम हुँदा घुम्तीगोठसँगै स्थानीय जातका गाईगोरु सङ्कटमा परेका हुन् । धवलागिरि-७ काफलडाँडाका नेत्रप्रसाद पुनले गाई पाल्न छाडेको १७ वर्ष भयो ।

“थोरै दूध दिने १० गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ”, करिब तीन दशक गाई पालेर लेकबेँसी गरेको सम्झँदै उनले भने, “खनजोत गर्ने मिनीटिलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलन हरायो ।”

पूजाआजा र धार्मिककार्यमा आवश्यक पर्ने दूध तथा गहुँतका लागि गाईका मालिकलाई पहिले नै भन्नुपर्ने अवस्था रहेको धवलागिरि गाउँपालिका-७ ताकमका ओमबहादुर घिमिरेले बताए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आएको छ”, उनले भने, “गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन् ।”

वडा नं ६ साविक मराङ र ७ मा पर्ने साविक ताकम गाविसमा स्थानीय जातका गाईगोरु भेट्टाउन मुस्किल पर्न थालेको छ । गुर्जा, लुलाङ, मुना, मुदी र मल्कवाङमा अझै घुम्ती गोठ घटे पनि गाईगोरु पाल्न चलन हटिसकेको भने छैन । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाईगोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातका व्यावसायिक पशुपालन उपयुक्त मानिन थालेपछि उन्नत जात र व्यावसायिकताले स्थानीय रैथाने जातका गाई गौशाला र मन्दिरमा सीमित हुन थालेका छन् ।

बढी दूध दिने उन्नत र वर्णशङ्कर जातका गाई र भैँसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनीटिलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाईगोरु पाल्ने चलन हराएको धवलागिरि-७ का इन्द्रलाल पौडेलले बताए । “मिनीटिलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ”, उनले भने, “सरकारले पनि बढी दूध दिने गाईभैँसीमा जोड दिएकाले भैँसी, वर्णशङ्कर र उन्नत जातका गाई पाल्नेको सङ्ख्या बढ्ने र स्थानीय जातका घटेको हो ।”

धवलागिरि गाउँपालिका खेतबारी खनजोत गर्ने औजार उपकरण नभित्रिँदासम्म गोरुको स्रोत केन्द्र थियो । बेनी नगरपालिका, पर्वत, स्याङ्जा र कास्कीका किसान हलगोरु किन्न धवलागिरि गाउँपालिकामा आउँथे । गोरुको व्यापार किसानको आम्दानीको स्रोत थियो । पछिल्लो समय गाईगोरुको माग र बिक्री पनि घटेको धवलागिरि–३ मुनाका खड्कमान पुनले बताए ।

स्थानीय जातका गाईको महत्व

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अभिलेखअनुसार नेपालमा पाइने आठ प्रजातिका गाईमध्ये म्याग्दीसहितका जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरू भूटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन् ।

दुई सयदेखि तीन सय किलोग्रामसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । एक बेतमा १५० देखि २०० लिटरसम्म दूध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मष्तिष्कका लागि महत्त्वपूर्ण मानिएको जिल्ला आयर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले बताए ।

“गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनबाट पहिचान भएको तथ्य हो”, उनले भने, “गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ ।”

नेपालको संविधानको धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावरका रूपमा उल्लेख गरिएको छ । कानुनले नेपालमा गोवध गर्न प्रतिबन्ध लगाएको छ । गाईलाई समाजमा संरक्षणको दृष्टिले हेर्ने गरिएकाले पनि गाईको धार्मिक एवं सांस्कृतिक महत्व रहेको बेनी नगरपालिका-१ स्थित श्रीलक्ष्मीहरि मन्दिरका महन्थ हिमालय बाबाले बताए ।

“गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुदैन”, उनले भने, “जैविक विशेषता बोकेका वैदिक गाईको नश्ल नेपालको जैविक सम्पत्ति हो । यसलाई बचाउन राज्य र समाजले विशेष ध्यान दिनुपर्छ ।” स्थानीय गाईको गोबर, गहुँत खेतीबारीमा मात्र होइन औषधीय कार्यमा पनि उपयोग हुने उनले बताए ।

हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म आवश्यक जनावरका रूपमा मानिन्छ । हिन्दू धर्मावलम्बीले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षी, राजर्षीहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरू पुराणमा उल्लेख गरिएका छन् । गाईको गोबरले घर लिपपोत गरेमा विभिन्न किटाणु नष्ट गर्ने शक्ति हुने भएकाले प्रयोग गर्ने गरिएको हो ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले घुम्ती गोठलाई आधुनिक र व्यवस्थित गर्न किसानसँग छफल गरेर उनीहरूको आवश्यकताअनुसारका कार्यक्रम बनाएर समेट्ने प्रयास गरिएको बताए । स्थानीय जातका गाईको वंशाणुगत गुण संरक्षणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयसँग समन्वय गरिएको बताए ।

घुम्तीगोठका लागि त्रिपाल, सोलारलगायत सामग्री उपलब्ध गराएको बताउँदै उनले फरक ढङ्गले घुम्तीगोठलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा रोजगारी सृजना र आयआर्जन वृद्धिको सम्भावना रहेको उपाध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : १७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त