काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी नियन्त्रणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन अस्वीकार गरेको छ । जुन १९ मा फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफ बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत् राख्ने निर्णय गरेको हो ।
एफएटीएफले नेपालले गत फेब्रुअरीमा ग्रे लिस्टबाट बाहिरिन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै त्यसअनुसार पर्याप्त सुधार र प्रभावकारी कार्यान्वयन हुन नसकेको निष्कर्ष निकालेको जनाएको छ ।
संस्थाले नेपालका रणनीतिक कमजोरीहरू सम्बोधन गर्न तयार गरिएको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन नभएकाले ग्रे लिस्टबाट हटाउने अवस्था नबनेको स्पष्ट पारेको छ । एफएटीएफले नेपाललाई सातवटा प्रमुख कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
कार्ययोजनाअन्तर्गत सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीसम्बन्धी जोखिमको बुझाइ सुधार गर्ने, वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो तथा घरजग्गा क्षेत्रको जोखिममा आधारित अनुगमन तथा पर्यवेक्षणलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ ।
त्यसैगरी, वित्तीय समावेशीकरणमा असर नपर्ने गरी अवैध हुन्डी कारोबारमा संलग्न महत्वपूर्ण व्यक्तिहरू तथा समूहको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाहीको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने शर्त पनि राखिएको छ ।
एफएटीएफले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने निकायहरूको क्षमता अभिवृद्धि, अन्तरनिकाय समन्वय सुदृढीकरण तथा अनुसन्धान र अभियोजनको संख्या तथा प्रभावकारिता बढाउन पनि जोड दिएको छ ।
यस्तै, अपराधबाट आर्जित सम्पत्ति तथा स्रोतहरू पहिचान गर्ने, रोक्का राख्ने, जफत गर्ने तथा आवश्यक परे कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने क्षमतामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
नयाँ सरकार गठनपछि सम्पत्ति शुद्धीकरण, वित्तीय अपराध तथा भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको भए पनि अपेक्षित प्रगति नदेखिएको एफएटीएफको निष्कर्ष छ । यही कारण नेपाललाई हालका लागि ग्रे लिस्टबाट बाहिर निकाल्ने निर्णय हुन नसकेको हो ।
एफएटीएफको यो निर्णयसँगै नेपालमाथि अन्तर्राष्ट्रिय वित्तीय निगरानी यथावत् रहनेछ भने आगामी मूल्यांकनसम्म आवश्यक सुधारका कार्यक्रमलाई तीव्रता दिनुपर्ने दबाब बढेको छ ।



















प्रतिक्रिया