काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई केन्द्र खाली गर्न थप एक साताको समय दिएको छ । यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको सरकारले नयाँ सूचना जारी गर्दै असार १९ गतेसम्मको म्याद थप गरेको हो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार जारी गरेको सूचनामा घरभाडा व्यवस्थापनका लागि दिइएको समय छोटो भएको गुनासो आएपछि म्याद थप गरिएको उल्लेख गरिएको छ ।
समितिले होल्डिङ सेन्टरमा रहेका परिवारलाई स्व-व्यवस्थापन गर्न आग्रह गर्दै २५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ । उक्त रकम प्राप्त गर्न असार १५ गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बर सहित निवेदन दिन भनिएको छ ।
सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाएपछि प्रभावित परिवारको विवरण संकलन गरी विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो । हाल २ हजार ६०८ जनाले सुकुम्बासीको रूपमा नाम दर्ता गराएकामध्ये ३८८ जना होल्डिङ सेन्टरमा बसिरहेका छन् भने अन्यले आफैं बसोबासको व्यवस्था गरिसकेका छन् ।
यता, सुकुम्बासीहरूले भने स्थायी बसोबासको व्यवस्था नगरी २५ हजार रुपैयाँ दिएर केन्द्रबाट हटाउन खोजिएको भन्दै विरोध जनाएका छन् । उनीहरूले वैकल्पिक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टर खाली गराउन खोजिए आफूहरू पुरानै बस्तीमा फर्केर बस्न बाध्य हुने चेतावनी दिएका छन् ।
प्रभावित परिवारहरूले सरकारसँग तत्काल स्थायी व्यवस्थापनको योजना सार्वजनिक गर्न र दीर्घकालीन समाधान सुनिश्चित गर्न माग गरेका छन् ।




















प्रतिक्रिया