१६ असार २०८३, मंगलबार | June 30, 2026

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नतिजामा देखिएको त्रुटि सच्याउँदै संशोधित सूची सार्वजनिक गरेको छ।

भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको मत परिणाम, उम्मेदवारी दर्ताका क्रममा पेस गरिएका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययनपछि दुई जना केन्द्रीय सदस्यको नाम हेरफेर गर्ने निर्णय गरेको हो।

संशोधित सूचीअनुसार जनजाति क्लस्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक (भूगोल)तर्फ गण्डकी प्रदेशबाट पूजा बाँस्तोला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यसअघि उनीहरूको स्थानमा क्रमशः कृष्णमान श्रेष्ठ र सोम शर्मालाई निर्वाचित घोषणा गरिएको थियो।

महाधिवेशनपछि आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारलाई निर्वाचित घोषणा गरिएको भन्दै थापा मगर र बाँस्तोलाले निर्वाचन आयोगमा उजुरी दिएका थिए। त्यसपछि आयोगले मत परिणाम तथा उम्मेदवारीसँग सम्बन्धित कागजातहरूको अध्ययन गरी असार १२ गते बसेको बैठकबाट त्रुटि सच्याउने निर्णय गरेको जनाएको छ।

निर्वाचन आयोगको निर्णयमा भनिएको छ, ‘महाधिवेशन निर्वाचन कार्यविधि २०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापा मगर निर्वाचित भएको देखिएकाले निजलाई निर्वाचित भएको निर्णय गरिएको छ।’

त्यसैगरी आयोगले गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक (भूगोल) तर्फको मत परिणाममा पनि त्रुटि भएको निष्कर्ष निकाल्दै पूजा बाँस्तोलालाई निर्वाचित घोषणा गर्ने निर्णय गरेको जनाएको छ। आयोगका अनुसार उक्त क्लस्टरमा सोम शर्माको सट्टा बाँस्तोला निर्वाचित हुनुपर्ने थियो।

गत शुक्रबार सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ३८४ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचनपछि सबै उम्मेदवारले प्राप्त गरेको मत सार्वजनिक गरिएको थियो। त्यसपछि मत बढी ल्याएका उम्मेदवारलाई बेवास्ता गरी कम मत प्राप्त गरेका उम्मेदवारलाई निर्वाचित घोषणा गरिएको भन्दै विवाद उत्पन्न भएको थियो।

निर्वाचन आयोगले त्रुटि स्वीकार गर्दै अन्ततः मत परिणाम र प्रमाणका आधारमा संशोधित सूची सार्वजनिक गरेपछि महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम सूची सच्याइएको हो।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : ५२ बजे

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि