काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीमा भएको सवारी दुर्घटना र उद्धार कार्यमा भएको ढिलाइप्रति सरकारको चर्को आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपद्का बेला राज्य प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउँदै कर्णालीप्रति विभेदपूर्ण व्यवहार गरिएको बताएका छन्।
संसदमा भावुक बनेका शाहीले आफू आज व्यक्तिगत धारणा राख्न नभई ‘कर्णालीको पीडा बोल्न’ उभिएको बताए। दुर्घटनापछि नदीको बीचमा फसेका नागरिकहरूले उद्धारका लागि गुहार मागिरहँदा पनि समयमै सहायता नपुगेको उल्लेख गर्दै उनले सरकारको विपद् व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाए।
उनले घटनाका क्रममा आकाशमा हेलिकोप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको आवतजावतमा प्रयोग भएको दाबी गरे। उद्धार टोलीसँग आवश्यक उपकरणको अभाव रहेको, सुरक्षाकर्मी घटनास्थलमा पुग्न करिब पाँच घण्टा लागेको र यही ढिलाइका कारण थप नागरिकले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो।
शाहीले दुर्घटनाले धेरै परिवारलाई अपूरणीय क्षति पुर्याएको उल्लेख गर्दै भने, ‘कसैले बुबा गुमाए, कसैले आमा, कसैले श्रीमान्-श्रीमती र कसैले आफ्ना सन्तान गुमाए।’
आफूले पनि जीवनमा आफन्त गुमाएको अनुभव सुनाउँदै उनले यो विषयलाई राजनीतिक बहसका रूपमा नभई मानवीय संवेदनासँग जोडेर हेर्न आग्रह गरे। ‘के कर्णालीका जनता यो देशका नागरिक होइनन् ? यदि कर्णाली पनि नेपाल हो भने विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ ?’, भन्दै उनले सरकारसँग जवाफ मागे।
सांसद शाहीले सरकारले विपद् व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता बारम्बार दोहोर्याए पनि व्यवहारमा कर्णालीले त्यसको अनुभूति गर्न नसकेको टिप्पणी गरे। ‘आकाशमा मन्त्रीको हेलिकोप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए’, उनले संसदमा भने।
उनले सभामुखमार्फत सरकारलाई घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको निष्पक्ष छानबिन गर्न, जिम्मेवारमाथि कारबाही गर्न तथा भविष्यमा यस्ता दुर्घटनामा तत्काल उद्धार सुनिश्चित हुने प्रभावकारी संयन्त्र निर्माण गर्न रुलिङ गर्न आग्रह गरे।
भाषणको अन्त्यमा शाहीले कर्णालीका नागरिकले दया वा सहानुभूति नभई समान अधिकार र समान व्यवहार चाहेको उल्लेख गर्दै सरकारसँग नागरिकको जीवन र सुरक्षाको संवैधानिक अधिकार सुनिश्चित गर्न माग गरे।



















प्रतिक्रिया