२८ असार २०८३, आइतबार | July 12, 2026

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ



काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका पर्यटकहरूको केन्द्र रहने गरेको ठमेलमा अहिले भने भारतीय पर्यटकको बाहुल्यता हुने गरेको छ ।

प्रकृति, संस्कृति र साहसिक खेलका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको नेपाल घुम्नका लागि पछिल्लो समय भारतीय पर्यटकहरू आउने गरेका छन् । केही समययतादेखि काठमाडौंको ठमेल क्षेत्रमा साँझपख भारतीय पर्यटकको विशेष चहलपहल देखिन थालेको यहाँका होटल तथा अन्य पर्यटन व्यवसायीहरू बताउँछन् ।

विशेष गरी काठमाडौंमा अधिकांश भारतीय पर्यटकहरू रहने भनेको पशुपतिनाथ क्षेत्रमा हो । तर यसबाहेक पनि स्वयम्भूनाथ, बौद्धनाथ, पाटन र काठमाडौं दरबार क्षेत्रमा रहेका सम्पदा र स्थलहरूको भ्रमणमा पनि उनीहरू उत्तिकै रमाउने गरेका छन् ।

तर पछिल्लो समय भने काठमाडौं आएका भारतीय पर्यटकहरूको केन्द्र ठमेल पनि बन्न थालेको छ । उनीहरूले यहाँ रहेर नेपाली खानाको परिकार, सांस्कृतिक वातावरणको अनुभव लिनुका साथै नेपाली हस्तकलालगायतका सामग्रीहरूको किनमेलमा पनि उनीहरू रमाउने गरेका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले पछिल्लो समय भारतीय पर्यटकका कारण ठमेल क्षेत्रको अर्थतन्त्र चलायमान भएको बताउँछन्। “भारतीय पर्यटकका कारण अहिले ठमेल क्षेत्रका होटल, रेस्टुरेन्ट, पसल र क्लबहरू भरिभराउ भएका छन्, यो ठमेलका लागि खुसीको कुरा हो,” उनी भन्छन् ।

काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित चारतारे होटल रमदा इन्कोर काठमाडौंका महाप्रबन्धक महेश फुँयाल अहिलेको समयमा आफ्नो होटलमा आउने पर्यटकमध्ये ३० प्रतिशत भारतीय मात्र रहने गरेको बताउँछन् ।

“काठमाडौंभित्रको पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने पर्यटकहरू धेरै रहेका छन्,” उनी भन्छन् । उनी काठमाडौंमा आउने धेरै भारतीय पर्यटक पशुपति, गौशाला क्षेत्रमा बस्ने गरे पनि ठमेलमा पनि हिजोआज भारतीय पर्यटकको चहलपहल राम्रो रहेको बताउँछन् ।

नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् । ठमेल पुरानो सांस्कृतिक तथा ऐतिहासिक बजार हो । ठमेलभित्र मेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य, भगवान बहाल, भगवती मन्दिर, भीमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य, श्री गाहा चैत्य रहेका छन् ।

सन् २०२५ मा विदेशबाट नेपाल आएका कुल ११ लाख ५८ हजार ४५९ पर्यटकमध्ये छिमेकी मुलुक भारतबाट मात्र २५.२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ६२४ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, सन् २०२६ को ६ महिनामा ६ लाख २० हजार ४५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये छिमेकी मुलुक भारतबाट मात्र एक लाख ७२ हजार ४८१ पर्यटक नेपाल भित्रिएका छन् ।

भारतबाट जनवरीमा २६ हजार ६२४, फेब्रुअरीमा २२ हजार ७४५, मार्चमा २५ हजार ७२८, अप्रिलमा १५ हजार १९६, मेमा ४० हजार ७८२ र जुनमा ४१ हजार ८०९ पर्यटक नेपाल घुम्न आएका हुन् ।

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप कार्की नेपाल पर्यटन बोर्डको वार्षिक नीति तथा कार्यक्रम भारत केन्द्रित गरेका कारण नेपालमा भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउँछन्। नेपालले गएको एक वर्षमा भारतका मुख्य बजारमा २४ वटा पर्यटन प्रवर्द्धनसम्बन्धी मार्ट सञ्चालन गरेको उनको भनाइ छ ।

यस्तै, पर्यटन बोर्डले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म तराईका मुख्य नाकाहरूमा नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीयहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

यसैगरी, पछिल्लो समय जलवायु परिवर्तनका कारण भारतमा गर्मी ह्वात्तै बढेको र गर्मी छल्नका लागि पनि भारतीय पर्यटकहरू नेपाल आउने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटकको आगमनले पर्यटकीय राजधानी पोखराका होटलसमेत भरिभराउ भएका छन् ।

पोखराको सराङकोटमा सञ्चालित नयाँगाउँ इको रिसोर्टका सञ्चालक विष्णुप्रसाद धिताल पछिल्लो समय भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाएको बताउँछन् । आफ्नो रिसोर्टमा बढी मात्रामा भारतको उत्तर प्रदेश र विहारबाट पर्यटक आउने गरेको उहाँको भनाइ छ । नेपाल र भारतको खुला नाकाका कारण सिद्धार्थ राजमार्ग हुँदै पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ बढी मात्रामा भारतीयहरू जाने गरेका छन् ।

नेपाल घुम्न आएका पर्यटकहरूमध्ये अधिकांश पर्यटक मुक्तिनाथ, पशुपतिनाथलगायतका मठमन्दिर घुम्न आउने गरेका छन् । धार्मिक पर्यटनका रूपमा यहाँ भारतीय तीर्थयात्रीहरू आउने गरेका हुन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ५२ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास