२५ असार २०८३, बिहिबार | July 9, 2026

तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…



म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ ।

सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट ६० वर्षीय कर्णबहादुरले आफ्नो पुर्ख्यौली थातथलो, दाजुभाइ र आफन्त खोज्दै ताकम आएका हुन् । “कामको खोजीमा भारतको सिलोङमा गएका बुबा मतीलाल खत्रीले त्यही बिहेवारी गरेर मलाई जन्माएको ११ औँ दिनमा आमाको निधन भएको रहेछ”, कर्णबहादुरले भने, “बुबा घर फर्किएपछि मलाई रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित मामाघरका हजुरबुबा र आमाले हुर्काउनुभएको थियो ।”

तीस वर्षअघि जिल्ला सदरमुकाम बेनीमा ल्याएर दाजुभाइ र आफन्तले बुबाको नामबाट नागरिकता दिलाएपछि मामाघरमै फर्किएका कर्णबहादुर त्यसयता कसैको सम्पर्कमा नभएपछि परिवार र आफन्तहरुले माया मारिसकेका थिए । कर्णबहादुरका भाइ (फुपुका छोरा) भूमिराज केसीले केही दिनअघि ताकममा भएको कुलपूजामा सहभागी हुन श्रीमतीसहित दाजु थातथलो खोज्दै आइपुग्दा सबै दङ्ग र अचम्ममा परेका बताए ।

“नागरिकता बनाएपछि मामाघरमै गएका कर्णबहादुर दाइको अवस्था अज्ञात हुँदा हामीहरुले माया मारिसकेका थियौँ”, उनले भने, “जन्मथलो खोज्दै पुर्ख्यौली थलोमा आइपुगेपछि हामीहरु सबै खुसी भएका छौँ ।” जन्मजात रुपमा दाहिने आँखा नदेख्ने कर्णबहादुरले २० वर्षअघि देब्रे आँखामा लागेको चोटको समयमै उपचार नपाउँदा दुवै आँखाको दृष्टि गुमेको बताए ।

रुपन्देहीमा रहेको नेत्रहीन सङ्घको कार्यालयमा बाँसको मुढा बुन्ने तालिममा सहभागी हुने क्रममा त्यही काम गर्ने दृष्टिविहीन डिलमाया चौधरीसँग कर्णबहादुरको चिनजान र १० वर्षअघि बिहेवारी भएको थियो । ३६ वर्षीया डिलमाया जन्मजात दृष्टिविहीन हुन् । शिक्षा शास्त्र सङ्कायमा स्नातक तह उत्तीर्ण गरेकी डिलमायाले सामाजिक सञ्जाल र वेबसाइटको माध्यमबाट श्रीमान् कर्णबहादुरको जन्मथलोको ठेगाना पहिचान गरेर सम्पर्कमा आएको बताइन् ।

डिलमायाको माइती र कर्णबहादुरका मावलीको संरक्षणमा रुपन्देहीको सियारीमा सामानको ‘मार्केटिङ’ गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुको सात वर्षका छोरालाई नेत्रहीन सङ्घको समन्वयमा ललितपुरको छात्रावासमा बसेर अध्ययनको व्यवस्था मिलाइएको छ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता र पसलको ‘मार्केटिङ’ गरेर प्राप्त हुने ज्यालाबाट उनीहरुले घरव्यवहार चलाउँदै आएका छन् ।

आफन्त र दाजुभाइ भएकै ठाउँमा बसोबास गर्ने इच्छाअनुसार पुरख्यौली थलोमा आएका कर्णबहादुरको घरजग्गा र सम्पत्ति छैन । अध्यापन गराउन सक्ने शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र भएकी डिलमायाले जागिरको खोजीमा रहेको बताइन् ।

कर्णबहादुरका दिवङ्गत दाजुका छोरा बालकृष्ण खत्री ताकममा बसोबास गर्छन् । अर्की आमाबाट जन्मिएका भाइ पनि बेपत्ता रहेका भूमिराजले बताए । “आफन्त खोज्दै आउनुभएका कर्णबहादुर दाइ र भाउजुको लागि ताकममै हामी आफन्तहरुले घडेरीको व्यवस्था गरेर घर बनाइदिने प्रयासमा छौँ”, उनले भने, “सुकुमवासी उहाँको आवास निर्माणका लागि वडा कार्यालय, गाउँपालिकादेखि राज्यका सम्बद्ध निकाय तथा दाताहरुबाट सहयोगको अपेक्षा गरेका छौँ ।” रासस

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १० : २१ बजे

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिमाथि संसद्मा फेरि विरोध, माफी माग्न विपक्षीको अडान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई

बालमन्दिरको जग्गा लिज प्रकरणमा तीन जना पक्राउ, सीआईबीले बढायो अनुसन्धान

काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा लिजमा दिइएको विषयसँग

प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक पेश हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा