बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३ सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिको आयोजनामा सम्पन्न सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।
सम्मेलनले प्राचीन वास्तु विज्ञानको मौलिकता, शास्त्रीय मर्यादा र सांस्कृतिक गरिमाको संरक्षण तथा प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धतासहित सातबुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा वास्तुसम्बन्धी प्राचीन ग्रन्थ, परम्परागत अभ्यास र लोकअनुभवको वैज्ञानिक अध्ययन, अनुसन्धान, अभिलेखीकरण तथा प्रकाशनलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताए । उनले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री तथा दिगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
मुख्यमन्त्री आचार्यले वास्तुशास्त्रले मानव जीवन, प्रकृति र निर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै यसको अध्ययन, अनुसन्धान र व्यवहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने धारणा राखे । उनले वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा नभई अनुसन्धान र प्रमाणका आधारमा व्याख्या तथा विकास गर्नुपर्ने बताए ।
उनले यस्ता सम्मेलनले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक ज्ञान परम्परासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । साथै प्रदेश सरकारले ज्ञान, संस्कृति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले वास्तुको वैज्ञानिक पक्ष, वर्तमान अवस्था तथा व्यवहारिक प्रयोगबारे धारणा राखेका थिए ।
प्रदेश समितिका सभापति चुडामणि पाण्डेका अनुसार सम्मेलनमा करिब ३०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा आचार्य लक्ष्मण गौतम, सुन्दर भण्डारी, बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, तिला अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



















प्रतिक्रिया