२४ भदौ २०८३, बुधबार | September 9, 2026

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी



काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो ।

मन्त्रालयका अनुसार उद्योगको परीक्षण सञ्चालनका लागि आवश्यक तयारी यसअघि नै सुरु भइसकेको छ । अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिवेदनअनुसार सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने लक्ष्य निर्धारण गरिएको छ । सोही समयसीमालाई ध्यानमा राखेर उद्योगभित्र आवश्यक तयारी तीव्र रूपमा भइरहेको उल्लेख गरिएको छ ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा रु ३३ लाख बजेट निकासा गरिसकेको छ । उक्त बजेटबाट परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक कार्य सञ्चालन गर्न सहज भएको प्रतिवेदनमा उल्लेख छ ।

उद्योग सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा परिचालन भएको छ । टोलीले उद्योगभित्र सरसफाइको काम तीव्र पारेको, परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको तथा सैनिक सामग्री उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिनहरूको मर्मत कार्य सुरु गरिसकेको प्रतिवेदनमा जनाइएको छ ।

उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट रु ५० लाखको लागत अनुमान पेस गरिएको छ । सोही लागत अनुमानका आधारमा पूर्वाधार विकास मन्त्रालयले उद्योगका भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ ।

उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ । प्रतिवेदनअनुसार उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको छ ।

प्रतिवेदनमा तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने उल्लेख गरिएको छ । परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिनेछ । त्यसका आधारमा आवश्यक कानुनी तथा नीतिगत निर्णय गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना अघि बढाइने प्रतिवेदनमा औँल्याइएको छ ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले कार्यदलले दिएका सुझावका आधारमा निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : ४८ बजे

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले