काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा उपलब्ध गराउने सम्बन्धमा तीन संस्थासँग समझदारी गरेको छ ।
प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) बीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार विपद्का बेला आवश्यक पर्ने हवाई, प्रविधिमैत्री तथा जलमार्गीय उद्धार सेवाको उपयोग गरिनेछ ।
वायुसेवा सञ्चालक संघसँग भएको सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र उद्धार तथा खोज कार्यका लागि आवश्यक उडान निःशुल्क उपलब्ध गराइनेछ । उपत्यकाबाहिरका उडान भने न्यूनतम सञ्चालन खर्चमा उपलब्ध गराइने सहमति भएको छ ।
नेपाल ड्रोन संघले विपद्का समयमा आवश्यक परे पाइलटसहित ड्रोन तथा सम्बन्धित उपकरण निःशुल्क उपलब्ध गराउनेछ। यद्यपि ड्रोन परिचालनमा खटिने जनशक्तिको यात्रा तथा बसोबासको व्यवस्था भने प्राधिकरणले गर्नेछ ।
त्यस्तै, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) ले बाढी, डुबान तथा नदीजन्य विपद्मा खोज तथा उद्धारका लागि आवश्यक राफ्ट, उपकरण र जनशक्ति निःशुल्क उपलब्ध गराउनेछ। राफ्टिङ टोलीलाई राहत सामग्री, औषधि तथा उद्धारकर्मी ढुवानीमा समेत परिचालन गरिनेछ ।
समझदारी एक वर्षसम्म लागू रहने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद् व्यवस्थापनमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले निजी क्षेत्रले देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासबाट मात्र विपद्को प्रभाव न्यूनीकरण गर्न सकिने बताए ।
कार्यक्रममा वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राजविक्रम महर्जन तथा नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपद्का बेला नागरिकको ज्यान र धनको सुरक्षाका लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।



















प्रतिक्रिया