२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गरे ।

“आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो”, उनले भने, “पक्की नहर बनेपछि समयमै धान रोपाइँ गर्न पाएका छौँ ।” बेल्फी लुरवाङ सिँचाइ योजना निर्माण सम्पन्न भएपछि तुलप्रसादजस्तै बिमका किसानलाई लुरवाङ फाँटमा धान रोपाइँका लागि आकासे पानीको भर पर्नुपर्ने समस्याको अन्त्य भएको हो ।

विसं २०४५ मा निर्माण भएको कच्ची नहरलाई पक्की बनाएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरपरिवार किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताए । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।

नहरमा पानी चलाउन थालेपछि लुरवाङको फाँटमा धान रोपाइँका लागि यसपालि आकासे पानी कुर्न नपरेको उपभोक्ता समितिका अध्यक्ष झकवीर जुग्जालीले बताए । कच्ची नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।

पक्की नहर निर्माण भएपछि बेल्फीको मुहानबाट लुुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।

आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको आयोजना निर्माणले यसपालि पूर्णता पाएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताए ।

चालु आवमा विनियोजन भएको रु १० लाख बजेटबाट लुरवाङ फाँटको खोल्सामा छ मिटर लामो ‘क्रसिङ’ बनाएर पानी तारिएको छ । थप १७५ मिटर पक्की नहर निर्माण भएको छ । आव २०८१/८२ मा रु २० लाख बजेट विनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको थियो । एक सय ७० मिटर १२५ मिलीलिटर क्षमताको पाइप लाइन जडान गरिएको थियो । आव २०८०/८१ मा विनियोजन भएको रु १० लाख बजेटबाट बेल्फीमा इन्टेक, बाँध र करिब २०० मिटर पाइप लाइन जडान भएको थियो ।

लुरवाङमा धानलगायत खाद्य बालीका साथै सुन्तला र व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयवासीले अन्नको भण्डार मान्ने गर्छन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ८ : ५५ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज