खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र राष्ट्रिय अविस्कार केन्द्रबीच अस्पतालका उपकरणहरु मरमत र संचालन सम्बन्धमा सम्झौता भएको छ । अस्पतालमा बिग्रेर थन्काइएका उपकरणहरु मरमत र संचालन सम्बन्धमा अस्पताल र केन्द्रबीच सम्झौता भएको हो ।
आज काठमाडौंमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराई र आविस्कार केन्द्रका जनरल मेनेजर संजय शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालमा रहेका वारेन्टी अवधि सकिएपछि बिग्रेर थन्किएका उपकरणहरु अविस्कार केन्द्रका प्राबिधिकहरुले मरमत गरि संचालनमा ल्याउने उल्लेख भएको अस्पतालका कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । उपकरण निर्माण कम्पनी र बिदेशबाट प्राबिधिकहरु बोलाएर मरमत गर्दा धेरै खर्च हुने देखिएपछि आविस्कार केन्द्रसँग सहुलियत दरमा मरमतको सम्झौता गरिएको उनले बताए ।
अस्पताल संचालनका क्रममा खरिद गरिएका कतिपय उपकरणहरु बिग्रेको र सप्लायर्श कम्पनीबाट वारेन्टी अवधि सकिएको भन्दै मरमत गर्न अस्वीकार गरेका उपकरणहरुलाई आविस्कार केन्द्रका प्राबिधिकहरुले मरमत गरेर संचालन गर्ने सम्झौतामा उल्लेख छ ।
अस्पतालमा प्रखर परोपकार मिसन नेपालले नेपाल सरकारलाई हस्तान्तरण गर्ने क्रममा स्वास्थ्य कार्यालयबाट अनुदानमा प्राप्त ल्यावका उपकरणहरु मरमत हुन नसकेकर रहेको बताइएको छ । अस्पतालमा रहेको सिआर एक्सरे र मेमो ग्राफी मेसिन पनि बिग्रेको अवस्थामा रहेको छ ।
क्यान्सर उपचारको मुख्य उपकरण लिन्याक मेसिन मरमतका लागि भने अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयलाई गुहारेको बताइएको छ । क्यान्सरको सेकाइ गर्ने लिन्याक मेसिन बिग्रेका कारण अस्पतालको सेवामा गम्भीर असर परेको चिकित्सकहरुले बताएका छन् ।
मेसिन संचालन, दरबन्दी स्वीकृत लगायतको समस्यालाई लिएर अस्पतालका कार्यकारी निर्देशक भट्टराई अहिले काठमाडौं गएका छन् ।



















प्रतिक्रिया