खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराले आर्थिक वर्ष २०८३/८४ का लागि क्यान्सर उपचारमा प्रयोग हुने औषधि खरिद गर्न बोलपत्र आह्वान गरेको छ। अस्पतालले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत एन्टी क्यान्सर औषधि खरिद गर्न इच्छुक तथा योग्य आपूर्तिकर्ता र कम्पनीहरूबाट सिलबन्दी बोलपत्र माग गरेको हो।
अस्पतालले आज प्रकाशित गरेको सूचनाअनुसार इच्छुक बोलपत्रदाताले अस्पतालको कार्यालय, खजुरा, बाँकेबाट बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्। उक्त कागजात अस्पतालको आधिकारिक वेबसाइट www.skpch.gov.np बाट समेत डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ।
बोलपत्र कागजात प्राप्त गर्न कम्पनी वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित लिखित निवेदन पेस गर्नुपर्नेछ। साथै, बोलपत्र कागजात शुल्कबापत पाँच हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
इच्छुक बोलपत्रदाताले आफ्नो सिलबन्दी बोलपत्र आगामी कात्तिक १२ गते दिउँसो १२ बजेसम्म अस्पतालको कार्यालयमा बुझाइसक्नुपर्ने सूचनामा जनाइएको छ।
बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछ। बोलपत्र पेस गर्ने कम्पनीले कम्तीमा ९० दिनसम्म मान्य रहने प्रस्ताव पेस गर्नुपर्नेछ। साथै, न्यूनतम २५ लाख ५० हजार रुपैयाँको बोलपत्र जमानत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। जमानत बोलपत्रको मान्य अवधि समाप्त भएको मितिपछि थप ३० दिनसम्म मान्य हुनुपर्नेछ।
अस्पतालका अनुसार बोलपत्रको मूल्याङ्कन एकाइ दरका आधारमा गरिनेछ। भौतिक रूपमा पेस गरिने बोलपत्रसँग सम्बन्धित कम्पनी वा फर्मको आधिकारिक पत्र अनिवार्य गरिएको छ। बोलपत्रदाताले आफू योग्य रहेको, कुनै कानुनी कारबाहीमा नपरेको तथा खरिद प्रक्रियामा स्वार्थको द्वन्द्व नरहेको स्वघोषणासमेत पेस गर्नुपर्नेछ।
बोलपत्रसम्बन्धी थप जानकारी तथा सूचनामा हुने संशोधन अस्पतालको आधिकारिक वेबसाइट वा राष्ट्रिय दैनिक पत्रिकामार्फत सार्वजनिक गरिने अस्पतालले जनाएको छ।
















प्रतिक्रिया