बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रम तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना गरिएको थियो ।
क्लबका नवनिर्वाचित अध्यक्ष विक्रम रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरी प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, मेजर डोनर, मेन्टर तथा सदस्यहरू गरी करिब १५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन प्रेसिडेन्ट नोमिनी मिलन भण्डारीले गरेका थिए भने सञ्चालन निवर्तमान सचिव ओम खत्री र नवनियुक्त सचिव राजेश खरेलले गरेका थिए । स्वागत मन्तव्य मिलन भण्डारीले व्यक्त गरेका थिए ।
समारोहमा रोटरी वर्ष २०२६/२७ का लागि नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै जिम्मेवारी हस्तान्तरण गरिएको थियो । नयाँ कार्यसमितिमा अध्यक्षमा विक्रम रिजाल, सचिवमा राजेश खरेल र कोषाध्यक्षमा कृष्ण चौधरी रहेका छन ।
कार्यक्रममा बोल्ने वक्ताहरूले रोटरी क्लब अफ रुपन्देहीले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा सक्रिय रहने विश्वास व्यक्त गरेका थिए ।
विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रोटरी क्लब अफ रुपन्देही यस क्षेत्रकै उत्कृष्ट सामाजिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै नगरपालिकासँग सहकार्य गरेर विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको बताए । उनले आगामी दिनमा पनि नगरपालिकाले क्लबसँग सहकार्य गर्दै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै क्लबका पूर्वअध्यक्ष सीए हरि लम्सालले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, क्लबका सदस्य तथा उनीहरूका परिवारजनलगायत सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे ।
समारोहको समापन गर्दै रोटरी वर्ष २०२६/२७ का अध्यक्ष विक्रम रिजालले सबैको सहयोग, विश्वास र सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै समाजसेवाका कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले रोटरीको मूल भावना अनुरूप समुदायको हित र विकासका लागि क्लब निरन्तर सक्रिय रहने विश्वास दिलाए ।



















प्रतिक्रिया