२ श्रावण २०८३, शनिबार | July 18, 2026

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नियतप्रति शङ्का नगर्न आग्रह गर्दै जनतालाई अप्ठ्यारो पर्ने कुनै पनि निर्णय आवश्यक परे तत्काल संशोधन गरिने बताएका छन्।

शनिबार रौतहटका पार्टी नेता तथा कार्यकर्तासँगको भेटमा सीमा क्षेत्रका बासिन्दाले सरकारले लागू गरेको सय रुपैयाँको सीमा लगायतका व्यवस्थाका कारण दैनिक जीवन प्रभावित भएको गुनासो गरेका थिए। उनीहरूले समस्या समाधानका लागि सरकारसँग पहल गरिदिन सभापति लामिछानेलाई आग्रह गरेका थिए।

गुनासो सुनेपछि लामिछानेले सरकारले जनताको हितलाई केन्द्रमा राखेर निर्णय गरेको दाबी गर्दै कार्यान्वयनका क्रममा देखिने कमजोरी सच्याउन सकिने बताए। उनले निर्णयभन्दा पनि सरकारको नियत महत्त्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसलाई करेक्सन गर्न सकिन्छ। तर नियत खराब भयो भने त्यसलाई सच्याउन गाह्रो हुन्छ।’

उनले राम्रो उद्देश्यका साथ गरिएका निर्णय पनि व्यवहारमा जाँदा अपेक्षित परिणाम नदिन सक्ने उल्लेख गरे। ‘किसानको हितका लागि गरिएको निर्णय व्यवहारमा किसानकै विपक्षमा पुगेछ भने त्यसलाई परिवर्तन गर्न सकिन्छ’, उनले भने।

लामिछानेले सरकारका कुनै पनि निर्णय अन्तिम वा अपरिवर्तनीय नहुने स्पष्ट पारे। जनतालाई फाइदा पुर्‍याउने उद्देश्यले गरिएको निर्णयले उल्टै हानि पुर्‍याएको पुष्टि भए त्यसलाई परिवर्तन गर्न सरकार पछि नहट्ने उनको भनाइ थियो।

‘सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको हो, त्यही निर्णयले हानि गर्‍यो भने त्यसलाई परिवर्तन गरिन्छ। चिन्ता लिनु पर्दैन’, उनले भने, ‘कतिपय निर्णय कार्यान्वयनका क्रममा चुनौती आउँछन्। तर त्यसले ठूलो क्षति पुर्‍याउने अवस्था आयो भने रातारात पनि निर्णय सच्याउनुपर्छ।’

उनले सुरुवाती चरणमा विवादमा परेका धेरै नीति तथा निर्णय समयसँगै सही सावित भएका उदाहरण पनि रहेको उल्लेख गरे। त्यसैले कुनै नीति लागू हुनेबित्तिकै निष्कर्षमा नपुग्न उनले आग्रह गरे।

सभापति लामिछानेले किसान, मजदुर र गरिब-विपन्न वर्गलाई दीर्घकालीन रूपमा मर्का पर्ने नीति सरकारले कायम नराख्ने दाबी गरे। ‘कुनै पनि सरकारले लिएको नीति किसान, मजदुर वा गरिब विपन्न वर्गलाई अप्ठ्यारो पार्ने देखियो भने त्यस्ता नीतिहरू परिवर्तन हुन्छन्। यो अपरिवर्तनीय विषय होइन। त्यसैले केही समय धैर्यता राख्न म आग्रह गर्छु’, उनले भने।

उनले रौतहटबाट उठाइएका विषय औपचारिक रूपमा सम्बन्धित मन्त्रालयसम्म पुर्‍याइने जानकारी दिँदै आवश्यक परे पार्टीले पनि प्रत्यक्ष हस्तक्षेप गर्ने बताए। ‘माननीयज्यूहरूले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुहुनेछ। त्यहाँबाट पनि काम भएन भने पार्टी छ। पार्टीले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्नबाट कहिल्यै पछि हट्दैन’, उनले भने।

यस अवसरमा उनले पार्टीका नेता तथा कार्यकर्तालाई पनि रास्वपा गलत बाटोमा गएको महसुस भए निसंकोच खबरदारी गर्न आग्रह गरे।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  २ : ५१ बजे

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई