४ श्रावण २०८३, सोमबार | July 21, 2026

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो



काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिए। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले सुनाए ।

पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ । पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको पनि उनले स्वीकार गरे ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाको पनि विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए। बिहान ३ः०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ः०० बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ ।

मन्दिर प्रवेश गर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लाम भने लामो नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ९ : ५४ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा