झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग रकम संकलन गरेको रकम संस्थालाई बुझाउन तत्काल बुझाउन आग्रह गरेकी छन्। पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा मायाघर इटहरीकी संस्थापकमध्येकी एक तथा पुराणवाचिका राधिका दासीले मायाघरको नाममा सहयोग संकलन गरेको तर उक्त रकम संस्थालाई नबुझाएको भन्ने विषयमा टिप्पणीहरू सार्वजनिक भएपछि अध्यक्ष प्याकुरेलले यस्तो आग्रह गरेकी हुन्।
अध्यक्ष प्याकुरेलका अनुसार मायाघर सामाजिक सेवामा समर्पित संस्था भएकाले संस्थाको पारदर्शीता, विश्वसनीयता र जनविश्वास कायम राख्नु सबैभन्दा महत्वपूर्ण विषय हो। त्यसैले मायाघरको नाममा उठाइएको कुनै पनि सहयोग संस्थाको आधिकारिक अभिलेखमा आउनुपर्ने र सम्बन्धित रकम तत्काल संस्थालाई बुझाइनुपर्ने उनको भनाइ छ।
उनले मायाघर स्थापना भएपछिको अवस्थाबारे जानकारी दिँदै संस्थापकमध्येकी एक राधिका दासीले आफू संस्थाको संरक्षकको भूमिकामा मात्र रहने बताउँदै २०८० सालदेखि संस्थाको दैनिक गतिविधिबाट अलग भएको उल्लेख गरिन्। त्यसयता उनी संस्थाको प्रशासनिक तथा आर्थिक गतिविधिमा संलग्न नरहेको र संस्थासँग नियमित सम्पर्कसमेत नरहेको अध्यक्ष प्याकुरेलले स्पष्ट पारिन्।
प्याकुरेलले यदि राधिका दासी वा अन्य कुनै व्यक्ति वा संस्थाले मायाघरको नाममा सहयोग संकलन गरेको र अझै संस्थालाई बुझाउन बाँकी रहेको अवस्था भए त्यसको यथाशीघ्र हिसाब(किताब मिलाएर बुझाउन आग्रह गरिन्। आवश्यक परे राधिका फाउण्डेशनलाई औपचारिक पत्राचार गरी मायाघरको नाममा संकलित सहयोग रकम बुझाउन अनुरोध गरिने पनि उनले जानकारी दिइन्।
उनले मायाघरलाई सहयोग गर्न चाहने दाताहरूलाई समेत सचेत गराउँदै संस्थाको आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न आग्रह गरिन्। कुनै पनि सहयोग उपलब्ध गराउँदा अनिवार्य रूपमा संस्थाको आधिकारिक रसिद लिनुपर्ने उनको सुझाव छ। यसो गर्दा सहयोग रकम सही स्थानमा पुगेको सुनिश्चित हुने र भविष्यमा कुनै प्रकारको विवाद वा अन्योल उत्पन्न नहुने उनको भनाइ छ।
अध्यक्ष प्याकुरेलले मायाघरलाई विभिन्न दाताको सहयोगबाट सञ्चालन हुँदै आएको सामाजिक संस्था भएको उल्लेख गर्दै संस्थाप्रति आम नागरिकको विश्वास कायम राख्न आर्थिक पारदर्शीता अनिवार्य रहेको बताइन्। सहयोगदाताको विश्वास नै संस्थाको सबैभन्दा ठूलो सम्पत्ति भएकाले त्यसमा कुनै पनि प्रकारको शंका उत्पन्न हुन नदिन संस्था प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन्।
पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा मायाघरको नाममा उठाइएको सहयोग रकमसम्बन्धी विभिन्न टिप्पणी र प्रश्नहरू सार्वजनिक भइरहेका छन्। ती विषयलाई लिएर जनस्तरमा चासो बढिरहेका बेला अध्यक्ष प्याकुरेलले सार्वजनिक रूपमा धारणा राख्दै सहयोग रकम बाँकी भए तत्काल संस्थालाई बुझाउन र भविष्यमा मायाघरलाई सहयोग गर्दा आधिकारिक रसिद अनिवार्य लिन सबै सहयोगदाता तथा शुभेच्छुकसँग आग्रह गरेकी छन्।
इटहरीको मायाघर नेपाल सुनसरीको इटहरी-२ मा रहेको एक सामाजिक संस्था हो। यसको मुख्य उद्देश्य सडकमा अलपत्र परेका, मानसिक रूपमा अस्वस्थ, बेवारिसे, असहाय, हिंसापीडित तथा परिवारबाट विच्छेद भएका व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र पुनर्स्थापना गर्नु हो। संस्थाले ‘सडक मानवमुक्त नेपाल’ भन्ने दीर्घकालीन अभियानलाई पनि आफ्नो लक्ष्यका रूपमा अघि बढाएको जनाएको छ।



















प्रतिक्रिया