काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यो आयोजना करिब १९ अर्ब रुपैयाँ लागतमा तयार भएको हो ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ । आपतकालीन निकास सुरुङ (इभ्याकुएसन टनेल) र क्रस-प्यासेजसमेत जोड्दा सुरुङको कुल लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ ।
उनका अनुसार आयोजना निर्माणमा लागत भेरिएसनसमेत जोडिँदा कुल खर्च करिब १९ अर्ब रुपैयाँ पुगेको हो ।
जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि सुरुङमार्ग निर्माण थालेको थियो । आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।
उद्घाटनपछि सुरुङमार्गमा प्रारम्भिक रूपमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइने सडक विभागले जनाएको छ ।
महानिर्देशक जैसीका अनुसार उद्घाटनपछि सुरक्षासम्बन्धी सम्पूर्ण प्रणाली परीक्षणका लागि ‘मक ड्रिल’ सञ्चालन गरिनेछ । त्यसपछि जेट फ्यान, भेन्टिलेसन प्रणाली तथा अन्य प्राविधिक उपकरणको परीक्षण पूरा गरी चरणबद्ध रूपमा सर्वसाधारणका सवारीसाधन सञ्चालनमा ल्याइनेछ ।
विभागका अनुसार उद्घाटन भएको करिब एक साताभित्र सम्भावित दुर्घटना, आगलागी तथा अन्य विपद्का अवस्थाको पूर्वतयारीस्वरूप नमूना अभ्यास (मक ड्रिल) गरिनेछ । त्यसपछि करिब एक सातासम्म एकतर्फी रूपमा परीक्षण सञ्चालन गरिनेछ । सबै प्राविधिक परीक्षण सफल भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने योजना छ ।
सुरुङमार्गमा मोटरसाइकल तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने प्रवेश अनुमति दिइने छैन । अन्य सवारीसाधन भने निर्धारित मापदण्डअनुसार सञ्चालन गर्न सक्नेछन् ।
महानिर्देशक जैसीले नागढुंगा–सिस्नेखोला क्षेत्रमा रहेको उकालो र पहिरोको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विस्तृत अध्ययनपछि सुरुङमार्ग निर्माण गरिएको बताए । निर्माणका क्रममा प्राविधिक चुनौती र स्थानीय तहसँग समन्वयका केही समस्या आए पनि ती सबै समाधान गर्दै आयोजना सम्पन्न भएको उनले उल्लेख गरे ।
उनले सुरुङमार्ग सञ्चालनसँगै काठमाडौं प्रवेश गर्ने यात्रुका लागि यात्रा समय घट्ने, सडक सुरक्षा बढ्ने तथा देशको पूर्वाधार विकासमा नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरे ।



















प्रतिक्रिया