काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार विशेषगरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार दिउँसो कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने जनाएको छ ।
आज देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । यस्तै, कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहने र हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् विनोद पोखरेलले आज बेलुका र भोलि पनि देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको बताएका छन् । उनका अनुसार पूर्वी तराईका धेरै स्थानमा भने अझै पर्याप्त वर्षा हुने सम्भावना कम रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाको आसपास रहेकाले वर्षा हुने क्रम जारी रहने विभागले जनाएको छ ।



















प्रतिक्रिया