२५ भदौ २०८३, बिहिबार | September 10, 2026

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु



सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र २२ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

प्रशासनका अनुसार हरिनगर बजारको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ ।

आइतबार राति साउने सोमबारको बोलबम यात्राका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै गइरहेको समूह र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद हुँदा झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका-४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

घटनामा नौ जना सर्वसाधारण, नेपाल प्रहरीका आठ जना र सशस्त्र प्रहरीका पाँच जना गरी २२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटनापछि प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रशासनले कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति-सुरक्षा कायम गर्न प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ । साथै, स्थिति सामान्य बनाउन दुवै पक्षका प्रतिनिधिसँग निरन्तर संवाद र छलफल भइरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ८ : २१ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार