काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायत उच्च अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।
उद्घाटनपछि निर्माण पक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ । मन्त्री लम्सालको प्रमुख आतिथ्यमा आज बिहान १०ः२५ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ ।
उद्घाटन समारोहमा मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर आवागमन शुभारम्भ गर्ने कार्यक्रम छ । पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अत्यावश्यक सेवाका सवारीलाई मात्र प्रवेश दिइनेछ ।
केही दिन सुरुङमार्गको पूर्ण परीक्षण गरेपछि मात्र सबै वर्गका सवारीसाधन सञ्चालन गर्न दिइनेछ । सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन तथा प्राविधिक पक्षको परीक्षणपछि नियमित सञ्चालन गरिने बताइएको छ । परीक्षण अवधिमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ।
२ हजार ६८८ मिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि सवारीसाधनबाट शुल्क लिइनेछ । सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यस्तै, मिनीबस, ट्रक तथा टिपरले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस र ठूला ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीलाई प्रवेश अनुमति दिइने छैन । पेट्रोल, डिजेल, ग्यासलगायत प्रज्वलनशील पदार्थ बोकेका तथा विस्फोटक पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई पनि प्रवेश निषेध गरिएको छ ।
आयोजनामा मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुईवटा संरचना निर्माण गरिएको छ । मुख्य सुरुङबाट सवारी सञ्चालन हुनेछ भने आपत्कालीन अवस्थामा उद्धार सुरुङ प्रयोग गरिनेछ । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो ।
आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा सुरक्षा व्यवस्थाका लागि दमकल, आकस्मिक उद्धार प्रणाली, सिसिटिभी क्यामेरा, सञ्चार प्रणाली तथा अन्य सुरक्षा उपकरण जडान गरिएको छ ।
सुरुङभित्र अक्सिजन प्रवाहसहित आवश्यक अत्यावश्यक सेवाको व्यवस्था गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका-सिस्नेखोलामा पुगेर टुंगिन्छ ।
हाल सञ्चालनमा रहेको नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो बाटोका कारण हुने समस्या घटाउँदै सुरुङमार्ग सञ्चालनपछि इन्धन खपत र यात्रुको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ ।
सुरुङमार्ग निर्माणमा जापान सरकारको २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ । सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्ति र प्राविधिक तयारी पूरा भइसकेको छ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट विद्युतीय माध्यममार्फत शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । निर्माण सुरु भएको ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारीलगायत विभिन्न प्राविधिक तथा व्यवस्थापकीय चुनौतीका कारण आयोजना सम्पन्न हुन समय लागेको थियो ।



















प्रतिक्रिया