काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोलीले समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा पुर्जाको शव फेला पारेको हो । सोही स्थानमा थप तीनवटा शव पनि देखिएको जनाइएको छ। ती शवहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।
एसीपीका अनुसार उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पसम्म ल्याउने तयारी गरिरहेको छ । कठिन भौगोलिक अवस्था, हिमपहिरोको उच्च जोखिम तथा प्रतिकूल मौसमका कारण उद्धार अभियान निकै चुनौतीपूर्ण बनेको क्लबले जनाएको छ ।
एसीपीका महासचिव अयाज शिग्रीका अनुसार पाकिस्तान र नेपालका आरोही सम्मिलित आठ सदस्यीय उद्धार टोली आइतबार बिहान ९ बजेअघि क्याम्प-१ पुगेको थियो । टोलीले ब्रोड पीकको ढिस्को क्षेत्रमा अत्यन्त कठिन परिस्थितिमा खोज तथा शव उद्धार अभियान सञ्चालन गरिरहेको उनले बताए ।
हिमपहिरोको जोखिम, भीरालो भूभाग र प्रतिकूल मौसमका कारण हेलिकप्टर परिचालन गर्न सम्भव नभएकाले उद्धार कार्य स्थलमार्गबाट भइरहेको शिग्रीले जानकारी दिए ।
यसअघि शनिबार पुर्जाको अभियान व्यवस्थापन गरिरहेको कम्पनी एलिट एक्स्पेडले पाकिस्तानी आरोही सोहेल साखीसहित अभियानमा संलग्न सबै सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो ।
एसीपीकी नाइला कियानीका अनुसार यसअघि नै तीन जना आरोहीको शव तथा एक अमेरिकी आरोहीको हुन सक्ने मानव अवशेष फेला परिसकेको थियो ।
यसैबीच, पाकिस्तानको अनलाइन सञ्चारमाध्यम डनका अनुसार अनुसन्धान र उद्धार कार्य जारी रहेकाले आधिकारिक पुष्टि नभएसम्म अपुष्ट विवरण सार्वजनिक नगर्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेको छ ।

















प्रतिक्रिया