१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण घटनाको निष्पक्ष अनुसन्धान गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। कांग्रेसले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक तथा नागरिक संवाद संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सुनसरी घटनाको कारण, सुरक्षा व्यवस्थामा देखिएका कमजोरी, सामाजिक सञ्जालमार्फत फैलिएका अफवाहको भूमिका तथा घटनाप्रति राज्यले अपनाएको प्रक्रियाबारे निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे।

उनले सामाजिक सञ्जालमार्फत घृणा र झुटा सूचना फैलाउने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए। तर, कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा राख्ने प्रवृत्तिबाट राज्य सचेत रहनुपर्ने उनको भनाइ थियो।

राईले सरकार र आन्दोलनरत पक्षबीच भएको १३ बुँदे सहमतिपछि केही गम्भीर प्रश्नहरू उठेको उल्लेख गर्दै त्यसको संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद र नागरिकलाई स्पष्ट जानकारी दिन सरकारसँग माग गरे। सरकार पारदर्शी, सहयोगी र खुला ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले संवेदनशील राष्ट्रिय निर्णयहरू बन्द कोठाभित्र नभई खुला राष्ट्रिय संवादमार्फत अघि बढाइनुपर्नेमा जोड दिए। असहमतिलाई दबाएर राष्ट्रिय एकता कायम हुन नसक्ने उल्लेख गर्दै उनले खुला, इमानदार र सम्मानजनक छलफलबाट मात्रै विश्वास निर्माण हुने र त्यही विश्वासले दिगो समाधान दिन सक्ने धारणा राखे।

कांग्रेसले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक तथा नागरिक संवाद संयन्त्र गठन गर्न पनि सरकारलाई आग्रह गरेको छ। राईका अनुसार उक्त संयन्त्रमा हिन्दु, मुस्लिम, बौद्ध, किरात, इसाईलगायत सबै धार्मिक समुदाय, स्थानीय तह, नागरिक समाज, महिला, युवा तथा सुरक्षा निकायको समान प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ। उनले तनावका प्रारम्भिक संकेत देखिनासाथ यस्ता संयन्त्र सक्रिय भएर संवाद सुरु गर्नुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

संसदमा आफ्नो धारणा राख्दै राईले घृणाभन्दा संवाद, अफवाहभन्दा सत्य, प्रतिशोधभन्दा न्याय र विभाजनभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिनु नै संविधानको मर्म र नेपाली समाजको भविष्यको आधार भएको बताए।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १ : ३९ बजे

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०