काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन्।
दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको यात्रुवाहक बस ग्वार्को फ्लाइओभरको भित्तामा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी १९ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको ललितपुरस्थित बी एण्ड बी अस्पताल र ९ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बी एण्ड बी अस्पतालमा उपचाररत सुन्निमा योञ्जनको अवस्था गम्भीर रहेको छ भने बसका सहचालक ६० वर्षीय कृष्णराम थापाको बायाँ खुट्टा भाँचिएको छ । अन्य अधिकांश घाइतेको टाउको, हात, कम्मर तथा खुट्टामा सामान्य चोट लागेको छ।
दुर्घटनापछि बस चालक काभ्रेको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्दै आएका ३६ वर्षीय लक्षी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
दुर्घटनापछि केही समय ग्वार्को क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो। दुर्घटनाग्रस्त बस हटाएर यातायात सञ्चालनलाई पुनः सहज बनाइएको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया