काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको
चर्को आलोचना गरेका छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री तथा मन्त्रीहरूको सरकारी निवासमा पनि ग्यासको अभाव छ कि छैन भनेर प्रश्न गरेका छन्।
चुनावी अभियानका क्रममा रास्वपाले सरकारी कार्यालयमा ‘नो लाइन, ओन्ली वान लाइन’ को नारा दिएको स्मरण गर्दै अहिले ग्यासका लागि जनतालाई लामो लाइनमा बस्नुपरेको अवस्थाले आफूलाई लज्जित बनाएको बताए।
‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु। मेरै गालामा मेरै चड्कनजस्तो लाग्छ। चुनावताका हामीले सरकारी कार्यालयमा ‘नो लाइन, ओन्ली अनलाइन’ भनेर भाषण गरेका थियौँ। तर आज जनता भात पकाउने ग्यासका लागि दिनभर, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साँच्चिकै लाज लागेको छ,’ प्रसाईंले भने।
देशभर ग्यासको अभाव रहेको उल्लेख गर्दै उनले सरकारसमक्ष दुईवटा प्रश्न राखे। ‘देशैभर ग्यासको अभाव छ। मेरो प्रश्न छ– प्रधानमन्त्री र मन्त्रीहरूको क्वाटरमा पनि ग्यासको अभाव छ कि छैन ?’ उनले भने।
यस्तै, ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भएको सरकारकै दाबी सत्य हो भने दोषीमाथि कारबाही किन हुन नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
‘यदि सरकारले भनेजस्तै ग्यास आइरहेको छ र कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हो भने ती कालोबजारी गर्नेहरूलाई कठघरामा उभ्याएर कठोर दण्ड दिन दुईतिहाइको सरकारलाई केले रोकेको छ?’ उनले प्रश्न गरे।
प्रसाईंले जनताले केवल नयाँ सरकार वा नयाँ अनुहार नभई नयाँ राजनीतिक संस्कार खोजेको उल्लेख गर्दै त्यसको पुष्टि सरकारको व्यवहारबाट हुनुपर्ने बताए।
‘जनताले चिल्ला, ह्यान्डसम नयाँ अनुहार खोजेका होइनन्। उनीहरूले नयाँ चरित्र र नयाँ संस्कार खोजेका हुन्, जुन हाम्रो व्यवहारबाट प्रमाणित हुनुपर्छ’, उनले भने।


















प्रतिक्रिया