काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरीले मध्यरातमा छापा मारेको छ ।
पारिवारिक स्रोतका अनुसार प्रहरीले छापा मार्ने क्रममा घरमा रहेका ल्यापटप, कम्प्युटर तथा मोबाइल फोन नियन्त्रणमा लिएको छ । कुसुन्तीस्थित निवास नजिकबाट पक्राउ गरिएका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएलगत्तै प्रहरीले उनको निवासमा पुगेर विद्युतीय उपकरण नियन्त्रणमा लिएको हो ।
निवासमा छापा मारेपछि प्रहरी टोली ललितपुरको ठाडोढुङ्गास्थित ‘जनआस्था’को कार्यालयमा जाने तयारीमा रहेको बताइएको छ । मिडिया हाउसमा समेत प्रहरी प्रवेश गरी छापा मार्ने तयारी भएपछि पत्रकारहरूले विरोध जनाएका छन् ।
“मिडिया हाउसमा गैरकानुनी रूपमा छापा मार्न पाइँदैन” भन्दै प्रेस स्वतन्त्रता र व्यावसायिक अधिकारको रक्षाका लागि विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू ठाडोढुङ्गास्थित जनआस्थाको कार्यालयमा पुगेका छन् ।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठलाई वैयक्तिक गोपनीयता उल्लङ्घनसम्बन्धी कसुरमा अदालतबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रातारात घर तथा मिडिया हाउसमा छापा मार्ने प्रहरी कदमले कानुनी प्रक्रिया मिचिएको भन्दै पत्रकार सम्बद्ध विभिन्न सङ्घ-संगठनले विरोध गरेका छन् ।
श्रेष्ठ पक्राउ परेपछि पत्रकारिता क्षेत्रसमेत आन्दोलित बनेको छ । समाचार प्रकाशनकै आधारमा उनलाई नियन्त्रणमा लिइएको भन्दै विभिन्न सञ्चारसम्बद्ध सङ्घ-संस्थाले आपत्ति जनाएका छन् ।
ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । पक्राउको खबरपछि नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी काठमाडौं प्रहरी परिसर टेकु पुगेका थिए ।
समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल वा स्थापित कानुनी विधि र प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा सिधै सम्पादकलाई धरपकड गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको पत्रकारहरूको ठहर छ । यस्ता गतिविधिले सञ्चारमाध्यममा डर र दबाबको वातावरण सिर्जना गर्ने भन्दै महासङ्घलगायतका संस्थाले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।


















प्रतिक्रिया