रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा थवाङ गाउँपालिका-५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
यसैगरी, पहिरोमा परेर घाइते भएका थवाङ गाउँपालिका-५ का २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर थवाङ गाउँपालिका-५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर र ३४ वर्षीय महेन्द्र घर्ती बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।
बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी खटिएका प्रहरी निरीक्षक श्रेष्ठले बताए । थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा बुधबार राति पहिरो गएको हो ।


















प्रतिक्रिया