२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

प्रधानमन्त्री बालेन्द्रलाई भेटे वर्षमानले, रोल्पा विपद्मा परेकाको उद्धार र पुनर्स्थापनाको आग्रह



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी रोल्पामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका पुनले पछिल्ला दिनमा रोल्पाका विभिन्न क्षेत्रमा गएको बाढी तथा पहिरोबाट भएको क्षति, बेपत्ताको खोजी तथा पीडितको उद्धार र राहतबारे छलफल गरेका हुन्।

पुनका अनुसार रोल्पाको सुनछहरी गाउँपालिका-२, फलवाङमा वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिँदा उनीसहित तीन जना बेपत्ता भएका छन्। सोही वडाको गिट्ठेमा स्थानीय लादे बुढामगरको घरसमेत पहिरोले पुरिएको छ। उक्त घटनामा कति जना बेपत्ता छन् भन्ने विवरण भने अझै स्पष्ट हुन सकेको छैन।

पुनले पछिल्ला दिनमा थबाङ गाउँपालिका-५, उवा तथा सुनछहरी गाउँपालिका-२, भित्रीगामलगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको बताएका छन्। यसअघि सुनछहरी गाउँपालिका-सेरममा समेत पहिरोबाट मानवीय क्षति भएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटमा पुनले बाढी तथा पहिरोबाट मृत्यु, बेपत्ता र घाइते भएका नागरिकको खोज, उद्धार र उपचारलाई तीव्र बनाउन आग्रह गरेका छन्। उनले पहिरोमा अझै बेपत्ता रहेकाहरूको खोजीका लागि प्रभावकारी रूपमा उद्धार टोली परिचालन गर्न तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेका छन्।

त्यसैगरी, विपद्मा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, आवासविहीन परिवारलाई तत्काल अस्थायी आवास र राहत तथा दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न पुनले सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढी तथा पहिरोका कारण अवरुद्ध सडक, खानेपानी, विद्यालयलगायतका सार्वजनिक सेवा तत्काल सञ्चालन गर्न र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माण गर्नसमेत उनले आग्रह गरेका छन्।

वर्षायाम अझै बाँकी रहेकाले थप विपद्को जोखिमलाई ध्यानमा राख्दै रोल्पाको भौगोलिक विकटताअनुसार आवश्यक उद्धार टोली तथा हेलिकोप्टर तयारी अवस्थामा राख्नुपर्ने सुझावसमेत पुनले प्रधानमन्त्रीसमक्ष दिएका छन्।

भेटमा प्रधानमन्त्री शाहले उवामा भएको घटनाको उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको र पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिइसकेको जानकारी गराएका थिए। बेपत्ताको खोजीका लागि थप निर्देशन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेको पुनले बताएका छन्।

प्रधानमन्त्री शाहले बाढी तथा पहिरोका कारण अवरुद्ध सार्वजनिक सेवा तत्काल सञ्चालन तथा पुनःस्थापना गर्ने र जाजरकोट-रुकुम भूकम्पपछि अपनाउन लागिएको ‘नेपाली मोडल’अनुसार रोल्पामा भएको क्षतिको समेत पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको पुनको भनाइ छ।

पुनले विपद्बाट प्रभावित रोल्पालीको राहत तथा उद्धारमा आफ्नोतर्फबाट समेत सहयोग गर्ने घोषणा गरेका छन्। उनले प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढी–पहिरोपीडितका लागि प्रदान गर्ने जानकारी दिएका छन्।

साथै, पीडित परिवारसम्म राहत यथाशीघ्र पुर्‍याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने र राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक पहल अघि बढाउने उनले बताएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बराल मगर, नेपाली कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ र सहसंयोजक कृष्ण अधिकारी पनि सहभागी थिए।

पुनले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, विपद्को जोखिम कायमै रहेकाले स्थानीय तहदेखि संघीय सरकारसम्म सबै निकायलाई उद्धार, राहत र पूर्वतयारीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : २९ बजे

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा

धवलशमशेर राणाले दिए ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल दर्ताका

प्रधानमन्त्री बालेन्द्रलाई भेटे वर्षमानले, रोल्पा विपद्मा परेकाको उद्धार र पुनर्स्थापनाको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा रोल्पाबाट प्रतिनिधिसभा