काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
राप्रपा महामन्त्री पद छाडेर दुर्गा प्रसाईंसँग सहकार्य गर्दै नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका राणा अन्ततः प्रसाईंलाई समेत छोडेर एक्लै नयाँ दल दर्ताको प्रक्रिया अघि बढाउँदै शुक्रबार निर्वाचन आयोग पुगेका हुन्।
राणाले प्रस्ताव गरेको नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ रहेको छ। पार्टीको चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ माग गरिएको छ। आयोगमा बुझाइएको निवेदनमा पार्टीको झण्डामा सेतो रङमा त्रिभुज चिह्न राखिने उल्लेख छ।
निवेदनअनुसार नयाँ पार्टीमा तत्कालका लागि ७९ जना केन्द्रीय सदस्य रहनेछन्। पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि केही दिनमै दल दर्ताको प्रमाणपत्र दिने जानकारी दिएको छ।
राणा र प्रसाईंबीच पछिल्लो समय नयाँ पार्टी गठनका विषयमा सहकार्यको तयारी भए पनि पार्टी दर्ताको चरणमा पुग्नुअघि नै उनीहरूबीच असहमति भएको थियो। त्यसपछि राणाले छुट्टै दल गठन गर्ने निर्णय लिएका हुन्।
करिब दुई महिनाअघि राणासहित राप्रपाका १८३ जना नेताले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राप्रपा छाडेर दुर्गा प्रसाईंसँग सहकार्य गर्ने तयारी गरेका थिए।
तर, नयाँ पार्टी गठनको अन्तिम तयारीका क्रममा प्रसाईंसँग सहमति हुन नसकेपछि राणा आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने प्रक्रियामा अघि बढेका हुन्।


















प्रतिक्रिया