काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। आइतबार अपराह्न ४ः१५ बजे एयर इन्डियाको विमानमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल भ्रमणका क्रममा प्रधानसेनापति सेठले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्नेछन्।
सेठले गत जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । उनलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको छ। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्। नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्को देशका सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन रहँदै आएको छ।
सोमबार नै जङ्गी अड्डामा आयोजना हुने औपचारिक कार्यक्रममा पनि भारतीय प्रधानसेनापति सेठ सहभागी हुनेछन्।


















प्रतिक्रिया