२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै


३ भदौ २०८३, बुधबार  

104
Shares

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ । परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ ।

भद्रकाली काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो । निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ ।

विसं २०७२ को भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो । विसं २०८१ असारदेखि परिसरको पुनर्निर्माण सुरु गरिएको हो । हाल मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

पुनर्निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्त्व विभागले लिएको छ ।

मन्दिर परिसरको निर्माण तुल्सी–अम्बुजा जेभीले गर्दैछ । रु ३४ करोड ८० लाख ७१ हजारको लागतमा पुनर्निर्माणको जिम्मेवारी पाएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी तथा सत्तललगायत संरचनाको पुनर्निर्माण भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुनर्निर्माणमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिनेछ भने छानोमा परम्परागत झिँगटी राखिनेछ । उत्तरतर्फ भृकुटीमण्डप क्षेत्रमा दुईवटा ब्लक आपसमा जोडिने तथा दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन् । निर्माण हुने सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट रहने जनाइएको छ ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण महानगरपालिकाको पूर्वाधार विकासको काम मात्र नभई सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्त्वपूर्ण कार्य भएको बताइन ।

पुनर्निर्माणलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ ।

समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य रहेका छन् ।

समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहेको महानगरपालिकाले जनाएको छ ।

परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका बुट्टा तथा मौलिक निर्माण शैलीलाई संरक्षण गर्दै पुनर्निर्माण भइरहेको भद्रकाली मन्दिर परिसरको काम सम्पन्न भएपछि काठमाडौंको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  २ : ३२ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी