काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति गम्भीर प्रश्न उठाउँदै देशमा लोकतन्त्र, राष्ट्रियता र जनजीविकामाथि संकट उत्पन्न भएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले वर्तमान सत्ता अधिनायकवादतर्फ उन्मुख भएको दाबी गरे। उनले अहिलेको शासन व्यवस्थालाई ‘वालेन्द्रतन्त्र’को संज्ञा दिँदै लोकतन्त्र आफ्नो यात्राकै सबैभन्दा गम्भीर संकटमा रहेको बताए।
“लोकतन्त्र सर्वाधिक संकटमा छ,” उनले भने, “२०१७ सालमा महेन्द्रतन्त्र, २०६१ सालमा ज्ञानेन्द्रतन्त्र र अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ।”
थापाले वर्तमान सरकारका गतिविधिमा अधिनायकवादको झल्को देखिएको आरोप लगाए। उनका अनुसार सरकार सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य, संवैधानिक अभ्यास र जनताको अधिकारमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।
उनले गत भदौमा भएको राजनीतिक घटनाक्रमको स्मरण गर्दै त्यसबेला देश धुवाँ र खरानीले घेरिएको बताए। सेनाको सहजीकरणमा लोकतान्त्रिक संसद् र सरकार भंग गरिएको उनको दाबी थियो।
“यो त्यही महिना हो, जब देश धुवाँ र खरानी बनाइएको थियो। आज मेरो मानसपटलमा देश जलिरहेको दृश्य सजीव भएका छन्,” उनले भने, “मेरा कानमा देश जलाउनेहरूको अट्टहास गुन्जिरहेको छ।”
थापाले भदौ २३ गतेको आन्दोलनमा घुसपैठ भएपछि आफूले वक्तव्यमार्फत आन्दोलनकारीहरूलाई घर फर्किन आह्वान गरेको स्मरण गर्दै त्यसपछि नागरिकको बलि चढाइएको आरोप लगाए। उनले उक्त आन्दोलन लामो तयारीसहितको सुनियोजित घटना भएको दाबीसमेत गरे।
उनले वर्तमान सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमाथि पनि प्रश्न उठाए। विशेषगरी तिब्बती मामिला र पश्चिमी कूटनीतिक गतिविधिप्रति सरकारको दृष्टिकोणलाई उनले ‘खतरनाक विचलन’को संज्ञा दिए।
थापाका अनुसार सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने नाममा नेपालमा राजनीतिक गतिविधि गर्न खुला अनुमति दिएको छ। गत भदौमा भएको सत्ता परिवर्तनप्रति दलाई लामाबाट आएको शुभकामना तथा त्यसपछिका घटनाक्रमलाई जोड्दै उनले नेपालमा विदेशी शक्तिको गतिविधिप्रति सरकार गम्भीर हुनुपर्ने बताए।
चीनको आपत्तिपछि नेपालमा आयोजना हुने भनिएको एक अन्तर्राष्ट्रिय सम्मेलनसमेत स्थगित भएको दाबी उनले गरे। तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको र गत भदौमा लुटिएका हतियारसमेत त्यहाँ लुकाइएको हुनसक्ने आशंका केही शोधकर्ताले व्यक्त गरेको भन्दै बादलले राष्ट्रिय सुरक्षाप्रति सरकार सचेत हुनुपर्ने बताए। यद्यपि यी दाबीहरूको स्वतन्त्र पुष्टि भने उनले प्रस्तुत गरेनन्।
नेपालले निर्वासित तिब्बतीहरूलाई मानवीय आधारमा आश्रय दिएको तर उनीहरूलाई राजनीतिक शरणार्थीको मान्यता नदिएको उल्लेख गर्दै बादलले नेपालको परम्परागत कूटनीतिक नीति र राष्ट्रिय हितलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए।
थापाले वर्तमान सरकारको छोटो अवधिमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित गम्भीर प्रश्नहरू उठेको दाबी गर्दै सरकारका निर्णय र गतिविधिमाथि संसद्मार्फत प्रभावकारी निगरानी आवश्यक रहेको बताए।
उनको अभिव्यक्तिले वर्तमान सरकार, लोकतान्त्रिक व्यवस्थाको अवस्था तथा नेपालको विदेश नीति र राष्ट्रिय सुरक्षालाई लिएर संसद्मा राजनीतिक बहस थप चर्किने संकेत गरेको छ।

















प्रतिक्रिया