५ भदौ २०८३, शुक्रबार | August 21, 2026

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान



गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका-७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् ।

चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्न, झाँट्न र कुट्न थालिन्छ ।

गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्त्याउने समय भएको लामाले बताए । चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको हो। यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने परम्परा छ ।

चुमभ्यालीमा साइत जुराएर बाली भित्र्त्याएमा सहकाल रहने जनविश्वास रहेको स्थानीय प्रमुख लामा पासाङ फुञ्जोले बताए । यहाँ सबै गाउँमा एकैपटक बाली काटिँदैन । छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरेर बाली थन्क्याउने गरेका छन् ।

भौगोलिक रूपमा गाउँहरू टाढा छन् चार घण्टा पैदल हिँडेर पनि गाउँले एकअर्काको खेतबारीमा काम गर्न पुग्छन् । अबको एक महिनामा चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्नुपर्नेछ ।

चुमनुब्री-७ छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा तीन हजार ३०० देखि तीन हजार ५०० मिटरको उचाइमा छ । यहाँ गहुँ पाक्न ११ महिना लाग्छ ।

“यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ,” प्रमुख लामा फुञ्जोले भने, “बारीमा गहुँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाउने चलन छ ।”

एक वर्षमा एकपटक मात्र खेती हुने चुमभ्यालीमा ११ महिना लगाएर उत्पादन भएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको छ । यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौं तथा विदेशमा बस्ने लामा गुरुहरूले समेत खरिद गर्ने चलन रहेको प्रमुख लामाले बताए ।

खेतीमा बढ्दो मेसिनको प्रयोग

हिमाली भेगको परम्परागत खेती प्रणालीमा पछिल्लो समय प्रविधिको प्रयोग पनि बढ्दै गएको छ । चुमभ्यालीका किसानले करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिनमार्फत गहुँ काट्ने र कुट्ने गरेका छन् ।

चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने र कुट्ने मेसिन रहेका चुमनुब्री-७ का वडाध्यक्ष टासी दोर्जे लामाले बताए ।

चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग हुन्छ। स्थानीयवासीले ढिँडोसँगै रोटी र चम्पा बनाउन पनि गहुँ प्रयोग गर्छन् । याक र नाकको दानाका साथै घरेलु मदिरा उत्पादनमा गहुँ प्रयोग हुने गरेको छ । प्रतीक्षा आले/रासस

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ८ : १६ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको