५ भदौ २०८३, शुक्रबार | August 21, 2026

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने विश्वास दिलाएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुकुमारी सापकोटाको प्रश्नको जवाफ दिँदै उनले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्व सङ्कलनको विषयका रूपमा मात्र हेर्न नहुने बताए । उनकाअनुसार गाँजा औषधिजन्य तथा लागुपदार्थका रूपमा नियन्त्रित विषय भएकाले यसबारे विज्ञबाट अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ ।

“गाँजा उत्पादन तथा बजारीकरणको विषय आय, रोजगारी तथा सम्भावित राजस्व सङ्कलनमा मात्र सीमित नभई औषधिजन्य तथा लागुपदार्थका रूपमा नियन्त्रित विषय हो । सम्बन्धित विज्ञबाट अध्ययन तथा निष्कर्ष भई कानुनबमोजिम व्यवस्थित गरिएमा अर्थ मन्त्रालय सहजीकरणका लागि तत्पर रहनेछ”, अर्थमन्त्री वाग्लेले भने ।

विकसित तथा पश्चिमा मुलुकहरूमा समेत यस विषयमा खुलापन बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले नेपालले पनि सकारात्मक दृष्टिले अध्ययन गर्नुपर्ने धारणा राखे । उनले यस विषयमा गृह मन्त्रालयसँग समन्वय गरी थप अध्ययन तथा निरीक्षण अघि बढाउने बताए ।

“थप अध्ययन र निक्र्योल गरेर कानुनमै यसको व्यवस्था गर्न सकेमा अर्थ मन्त्रालयले सकारात्मक रूपमा हेर्नेछ । गृह मन्त्रालयसँग थप समन्वय गरेर तदारुकताका साथ यो विषयको निक्र्योल गर्न पहल गर्नेछु”, उनले भने ।

गाँजा उत्पादन तथा बजारीकरण कानुनबमोजिम व्यवस्थित गर्न सकिएमा आय, रोजगारी, औद्योगिक प्रवर्द्धन र सरकारी राजस्व वृद्धिमा योगदान पुग्न सक्ने उनको भनाइ थियो ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८३/८४ मा मन्त्रालय, आयोग, विभाग, कार्यालय तथा समितिसँग सम्बन्धित ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा रु सात लाख विनियोजन गरिएको उनले जानकारी दिए ।

सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताअनुसार उक्त रकम वृद्धि गर्न सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्ने र औचित्यका आधारमा थप विनियोजनका लागि अर्थ मन्त्रालयसँग माग भएमा आवश्यक रकम उपलब्ध गराउने आश्वासनसमेत दिए ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ४ : १८ बजे

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा