हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री थापामगरको आफ्नै दल नेकपा एमालेले पनि सांसदहरूलाई अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र भने विश्वासको मतलाई लिएर विवाद देखिएको छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएकी छन् ।
तर, राप्रपाबाट सरकारमा सहभागी खानेपानी मन्त्री राजु विष्टले तामाङलाई सरकार गठन हुनुअघि नै सचेतक पदबाट हटाइएको दाबी गरेका छन् । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई यसअघि नै सचेतकबाट हटाएको उनको भनाइ छ ।
नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापामगर गत ४ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्र विवाद चर्किएपछि राप्रपाले पार्टी केन्द्रको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरिसकेको छ ।
सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।
राप्रपाका १२ जना प्रदेशसभा सदस्यले विश्वासको मतका क्रममा कस्तो निर्णय गर्छन् भन्ने विषयलाई अहिले मुख्य चासोका रूपमा हेरिएको छ ।

















प्रतिक्रिया