काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने उद्देश्यले सामाजिक सञ्जालमा पुराना भिडियो, अभिव्यक्ति तथा भ्रामक सामग्रीको तोडमोड गरी प्रचार गरिएको भन्दै उनको सचिवालयले गम्भीर आपत्ति जनाएको छ।
भट्टराईको सचिवालयले सोमबार जारी गरेको ‘गम्भीर ध्यानाकर्षण पत्र’मा केही व्यक्ति तथा समूहले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले बहुसंख्यक हिन्दु धर्मावलम्बीको धार्मिक आस्थालाई प्रयोग गरी भट्टराईविरुद्ध धार्मिक घृणा र सामाजिक विभाजन फैलाउने गतिविधि गरिरहेको उल्लेख गरेको छ।
सचिवालयका अनुसार पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधिप्रति भट्टराईको गम्भीर ध्यानाकर्षण भएको छ।
विज्ञप्तिमा धर्मनिरपेक्षता कुनै धर्मको विरोध नभएको स्पष्ट पार्दै धर्मनिरपेक्षताको मूल मर्म राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने वा नमान्ने स्वतन्त्रता सुनिश्चित गर्नु रहेको उल्लेख गरिएको छ। विज्ञानमा विश्वास गर्ने, वैज्ञानिक दृष्टिकोण अपनाउने वा नास्तिक हुने विषय प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको सचिवालयले जनाएको छ।
सचिवालयले हिन्दु धर्मभित्र रहेका जातीय विभेद, सामाजिक असमानता तथा विकृतिका विषयमा प्रश्न उठाउनु वा आलोचना गर्नु कुनै धर्म वा धार्मिक समुदायप्रतिको घृणा नभएको स्पष्ट पारेको छ। सामाजिक न्याय र समानताको पक्षमा हुने बहसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको घृणाका रूपमा व्याख्या गर्नु गलत भएको उसको भनाइ छ।
त्यस्तै, डा. भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरी पुराना सामग्री तोडमोड गर्ने तथा भ्रामक व्याख्यामार्फत प्रस्तुत गर्ने कार्यलाई गैरजिम्मेवार राजनीतिक तथा सामाजिक व्यवहारका रूपमा सचिवालयले टिप्पणी गरेको छ।
सचिवालयले पछिल्लो समय केही व्यक्तिहरूले धार्मिक तथा भय सिर्जना गर्ने सामग्री सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा प्रचार गरिरहेको भन्दै आपत्ति जनाएको छ। यस्ता गतिविधिले व्यक्तिको सुरक्षा तथा प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा समेत गम्भीर असर पार्न सक्ने उसको भनाइ छ।
विज्ञप्तिमार्फत धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका तथा धर्मद्वेषपूर्ण सामग्रीबाट सचेत रहन आम नागरिकलाई आग्रह गरिएको छ।
साथै, यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहले प्रयोग गरेका सामाजिक सञ्जालका खाताहरूको गम्भीर निगरानी गरी आवश्यक अनुसन्धान गर्न र प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउन सरकारसँग सचिवालयले माग गरेको छ।
अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै कसैको धार्मिक आस्था, व्यक्तिगत सुरक्षा तथा प्रतिष्ठामा आँच पुर्याउने गतिविधिमा राज्यले आवश्यक कानुनी हस्तक्षेप गर्नुपर्नेमा समेत सचिवालयले जोड दिएको छ।
सचिवालयले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कमजोर पार्ने गरी घृणा, हिंसा र विभाजन फैलाउने प्रयासलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।


















प्रतिक्रिया