काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको छ । बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
बाढीका कारण भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन नसकेको प्रशासनले बताएको छ । भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने त्रिशूली नदी तथा अन्य नदीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘भोटेकोशी नदीमा रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,’ प्राधिकरणले भनेको छ ।
यसैबीच, रसुवाको टिमुरे र स्याफ्रुबेँसी आसपास भीषण वर्षाका कारण केही घण्टाअघि ठूलो बाढी आएको जानकारी प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
घटनापछि खोज तथा उद्धारलगायतका काममा आवश्यक समन्वय भइरहेको सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल तथा मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीहरूले भन्सार कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाइएको छ ।
बाढीको अवस्थाबारे थप विवरण संकलन तथा क्षतिको यकिन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ ।
प्रशासन तथा विपद् व्यवस्थापन निकायले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।
















प्रतिक्रिया