११ भदौ २०८३, बिहिबार | August 27, 2026

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

"साझा संकल्प गरौं- विपत्तिमा कोही एक्लो नहोस्"



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न राजनीतिक मतभेदलाई थाती राखेर सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले अहिले लामो राजनीतिक बहस र आग्रह–पूर्वाग्रहमा अल्झिने समय नभएको बताए ।

उनले विपत्तिको समयमा सरकार, राजनीतिक दल र सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रचण्डले रसुवाको भोटेकोशीमा आएको बाढीलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र लिन नहुने बताए । पछिल्ला प्राकृतिक विपत्तिको प्रकृति, तीव्रता र प्रभावलाई हेर्दा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएका गम्भीर संकेत देखिएको उनको भनाइ छ ।

त्यसैले तत्काल उद्धार र राहतमा केन्द्रित हुँदै दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक, प्राविधिक तथा नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्ने उनले बताए ।

उनले हिमाली क्षेत्रमा विपद्को जोखिम र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई तत्काल प्रभावकारी रूपमा सक्रिय बनाउनसमेत उनले सरकारलाई आग्रह गरे ।

नेपालले भोगिरहेको यस्तो विपद् जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकको साझा समस्या भएको उल्लेख गर्दै प्रचण्डले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको विषयलाई सशक्त रूपमा उठाउनुपर्ने बताए ।

उनले कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिहरूले एकताबद्ध भएर सामना गरेको स्मरण गरे ।

वर्तमानमा राजनीतिक मतभेद र विमति भए पनि विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एकजुट हुनुपर्ने उनको भनाइ छ ।

भोटेकोशी बाढीबाट सिर्जित संकटबाट पार पाउन आफ्नो पार्टीको सरकारलाई पूर्ण साथ र सहयोग रहने प्रचण्डले बताए । पार्टीले यसअघि नै बैठक बसेर आवश्यक निर्णय गरिसकेको र उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरी पार्टीको पंक्तिलाई परिचालन गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।

बैठकमा प्रचण्डले विपत्तिको समयमा सबैले साझा संकल्प गर्नुपर्नेमा जोड दिँदै भने, “विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्।”

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १० : ५६ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन