काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै गएपछि नेपालतर्फ पुनः बाढी आउन सक्ने जोखिम देखिएको छ ।
चीनले परराष्ट्र मन्त्रालयमार्फत उपलब्ध गराएको पछिल्लो सूचना तथा भू–उपग्रह तस्बिर र प्रारम्भिक विश्लेषणका आधारमा बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
महाशाखाका अनुसार बुधबार बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ । उक्त ताल निरन्तर बढिरहेको र फुट्ने जोखिमसमेत रहेको चिनियाँ पक्षबाट प्राप्त सूचनामा उल्लेख छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत महाशाखाको सूचनालाई उद्धृत गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
५० लाख घनमिटर पानी थपिन सक्ने
चीनको जलस्रोत मन्त्रालयका अनुसार ल्हेन्दे खोलामा आएको हिमपहिरोका कारण नदी थुनिएर ताल बनेको हो । चिनियाँ रिपोर्टअनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो र पानी तालबाट बाहिरिनसमेत सुरु भएको थियो ।
आउँदो तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने चिनियाँ पक्षको आकलन छ ।
चिनियाँ मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा नदी थुनिएर ताल बनेको जनाएको छ ।
ताल फुटेमा त्यसबाट तल्लो तटीय क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम रहेको भन्दै चिनियाँ जलस्रोत मन्त्रालयले उक्त क्षेत्रको निरन्तर निगरानी गरिरहेको छ । सम्भावित बाढीको प्रभावबारे मोडलिङसमेत गरिएको जनाइएको छ ।
दुवैतर्फ ठूलो क्षति
बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण नेपालतर्फ रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । नदी तटीय क्षेत्रका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
चिनियाँ रिपोर्टअनुसार चीनतर्फ पनि बाढी तथा पहिरोबाट ठूलो क्षति भएको छ । घटनामा हालसम्म तीन जनाको मृत्यु भएको र ५५८ जना सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीनमध्ये २६० जना विदेशी नागरिक रहेको चिनियाँ पक्षको विवरणमा उल्लेख छ ।
यसैबीच नेपाल र चीनका सम्बन्धित निकायले विपद्को क्षति मूल्याङ्कन, खोज तथा उद्धार तथा सम्भावित थप जोखिम न्यूनीकरणका लागि समन्वय गरिरहेका छन् ।
भोटेकोशीको तल्लो तटीय क्षेत्रमा पुनः बाढीको सम्भावना देखिएपछि स्थानीय बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकलाई नदीको बहाव तथा माथिल्लो क्षेत्रमा बनेको तालको अवस्थाबारे प्राप्त हुने सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ ।

















प्रतिक्रिया