काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रक्षाबन्धनको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका हुन्।
प्रधानमन्त्रीका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत क्षेत्रमा खटिएका छन्।
हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना र हवाई माध्यमबाट ५१७ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको छ। हालसम्म ९९ वटा हवाई उडान भइसकेका छन्।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम पनि तीव्र पारिएको छ। ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको तथा हेलिकप्टरमार्फत थप ६ उडानबाट राहत सामग्री पुर्याइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा आवश्यक सञ्चार उपकरणसमेत पठाइएको छ।
रसुवागढी जलविद्युत् केन्द्रलगायत जोखिमयुक्त सुरुङमा फसेका नागरिक तथा कामदारको खोजी तथा उद्धारलाई विशेष प्राथमिकता दिइएको छ। आवश्यक विशेष उद्धार उपकरण परिचालन गरी खोजी कार्य जारी रहेको जनाइएको छ।
बेपत्ता नागरिक तथा शवको खोजी कार्यलाई तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि पनि विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको र परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वय गर्न इमरजेन्सी कन्ट्रोल रुम सञ्चालन गरेको उनले बताए।
विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको उनको भनाइ छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई प्राथमिकता दिइएको उनले बताएका छन्।
भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको सम्भावित जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ। जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ भने २ लाखभन्दा बढी एसएमएस अलर्टमार्फत नागरिकलाई पूर्वसूचना दिइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाउन गृहमन्त्री स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताएका छन्।
सडक सम्पर्क पुनःस्थापनामा समेत प्रगति भएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन् भने काठमाडौं–मुग्लिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
रसुवालाई पनि वैकल्पिक सडकमार्फत सडक सञ्जालमा जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीका लागि सञ्चालनमा आएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माणसमेत सुरु गरिएको छ।
प्रभावित क्षेत्रमा खानेपानी, इन्धन तथा सरसफाइको तत्काल व्यवस्था गरिएको छ। नुवाकोटमा केयूकेएलका चारवटा वाटर ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर पठाइएको छ। नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको प्रधानमन्त्रीले बताएका छन्।
विपद्बाट भएको क्षतिको विस्तृत मूल्यांकनसमेत सुरु भएको छ। सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ।
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ६ वटा अस्पताललाई स्ट्यान्डबाइ अवस्थामा राखिएको तथा कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी टेन्ट र आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
दूरसञ्चार सेवाको पुनःस्थापनामा पनि प्रगति भएको छ। प्रभावित १९८ टावर साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएका छन्। बाँकी साइटमा प्राविधिक तथा ऊर्जा स्रोत परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको छ।
विद्युत्तर्फ नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको छ।
राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक स्रोतसमेत परिचालन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको उनले जानकारी दिएका छन्।
प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।
राहत, उद्धार तथा पुनःस्थापनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगलाई एकीकृत रूपमा परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्। सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन भइरहेको उनको भनाइ छ।
यसैबीच, नेपाली खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा प्रधानमन्त्री शाहले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै उनले ढाँटलाई सरकारका तर्फबाट धन्यवादसमेत दिएका छन्।
















प्रतिक्रिया