४ कार्तिक २०८३, बुधबार | October 21, 2026

विजयादशमीको अवसरमा प्रधानमन्त्री बालेन्द्रको सन्देश – भ्रष्टाचार र कुशासन ‘आसुरी प्रवृत्ति’



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन्। विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता विकृतिलाई आसुरी प्रवृत्तिको संज्ञा दिएका हुन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

विजयादशमी असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गर्दै उनले यस पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन्।

प्रधानमन्त्री शाहले भ्रष्टाचार र कुशासन अन्त्य गरी हरेक नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउनु आवश्यक रहेको बताएका छन्। त्यसका लागि इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत अपरिहार्य हुने उनको भनाइ छ।

‘इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ,’ प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन्।

उनले विजयादशमीलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई समाजमा सकारात्मक परिवर्तनको संकल्प गर्ने अवसरका रूपमा पनि प्रस्तुत गरेका छन्।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको पौराणिक प्रसंग उल्लेख गरेका छन्। यी प्रसंगले असत्यमाथि सत्य र आसुरी शक्तिमाथि सद्गुणको विजयको सन्देश दिने उनको भनाइ छ।

नेपाली समाजको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न विजयादशमीले महत्वपूर्ण भूमिका खेल्ने पनि उनले बताएका छन्। यस पर्वले विभिन्न वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्नुका साथै लामो समयदेखि टाढिएका आफन्त तथा साथीभाइसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सबै नागरिकलाई आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन्।

उनले विजयादशमीको अवसरमा सबै नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्दै आफ्नो सन्देशको अन्त्य ‘जय दुर्गा भवानी’ भन्दै गरेका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ८ : ५१ बजे

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्ति

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो

काठमाडाैं। बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको

यातायात सहजतासँगै लाङटाङमा पर्यटक बढे

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा