१३ भदौ २०८३, शनिबार | August 29, 2026

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विपद् प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न सुझाव दिएका हुन्।

आङदेम्बेले सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिनुपर्ने बताए। जीवित नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै आधुनिक उपकरण र दक्ष जनशक्तिको प्रयोग गर्नुपर्ने उनको जोड छ।

उनले नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय भए पनि रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेका छन्।

‘नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ। तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस्,’ आङदेम्बेले प्रधानमन्त्रीसँग भनेका छन्।

आङदेम्बेले राहत वितरणमा समेत सरकारले तत्काल सुधार गर्नुपर्ने बताएका छन्। उनका अनुसार नुवाकोटका तल्लो क्षेत्रहरूमा राहत केन्द्रित भए पनि रसुवाका माथिल्लो तथा दुर्गम भेगमा अझै पर्याप्त राहत सामग्री पुग्न सकेको छैन।

‘धुन्चेसम्म हेलिकप्टरबाट केही सामग्री पुगे पनि भौगोलिक रूपमा क्षतविक्षत भएका अन्य विकट स्थानमा सर्वसाधारणले राहत पाउन सकेका छैनन्,’ उनले भने, ‘जनप्रतिनिधि र स्थानीय साथीभाइहरूले राहत नपुगेको गुनासो बारम्बार गरिरहनुभएको छ।’

राहत वितरणका लागि सीमित सामाजिक संस्थालाई मात्र परिचालन गर्दा प्रभावित क्षेत्रमा सामग्री पुर्‍याउन ढिलाइ हुन सक्ने भन्दै उनले राज्यले पहिचान गरेका तथा स्थानीय प्रशासनले विश्वास गरेका अन्य विश्वसनीय संस्थालाई पनि तत्काल परिचालन गर्नुपर्ने बताए।

उनले राहत सामग्री गोदाममा थुप्रिने वा बिग्रिने तर वास्तविक पीडितसम्म नपुग्ने अवस्था आउन नदिन सरकार सचेत हुनुपर्ने बताए। राहत वितरण प्रणाली पारदर्शी, व्यवस्थित र पहुँचयोग्य बनाउन स्थानीय प्रशासन तथा राज्य दुवैले विश्वसनीय ठहर गरेका संस्थालाई जिम्मेवारी दिनुपर्ने उनको माग छ।

‘मानिसले खान नपाएर ज्यान गुमाइसकेपछि राहत पुग्नुको कुनै अर्थ रहँदैन,’ आङदेम्बेले भने, ‘त्यसैले अहिलेकै अवस्थामा प्रभावकारी ढंगले सामग्री पुर्‍याउनुपर्छ।’

यसअघि आङदेम्बेले नुवाकोटलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले गृहमन्त्री सुधन गुरुङसँग समेत भेट गरी उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिएका थिए।

काठमाडौं फर्किएपछि प्रधानमन्त्री शाहसँग भेट गर्दै आङदेम्बेले स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र स्थानीयबाट प्राप्त गुनासाबारे जानकारी गराएका हुन्।

कांग्रेस संसदीय दलका नेताले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई समन्वयात्मक रूपमा अघि बढाउँदै दुर्गम बस्तीलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  १ : ०६ बजे

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई