१३ भदौ २०८३, शनिबार | August 29, 2026

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति



काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई अग्रिम सूचना नदिएको भन्दै नेपाली सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममा प्रकाशित समाचारप्रति काठमाडौंस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ ।

दूतावासले चिनियाँ विज्ञ टोलीहरूले विद्यमान प्रविधिको सीमाभित्र रहेर हिमाली क्षेत्रमा अनुगमन, मूल्यांकन तथा विश्लेषण गर्दै आएको र महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै साझा गर्दै आएको दाबी गरेको छ।

वक्तव्यले ‘चीनले नेपाललाई सम्भावित विपद्बारे कुनै अग्रिम सूचना दिएन’ भन्ने आरोपको प्रत्यक्ष खण्डन गर्दै नेपाल-चीनबीच सीमापार विपद् जोखिम न्यूनीकरण तथा सूचना आदानप्रदानमा नियमित समन्वय भइरहेको दाबी गरेको छ।

दूतावासले जारी गरेको प्रेस नोटमा हिमालय क्षेत्रमा विपद्को जोखिम अत्यन्तै छरिएको र उच्च हिमाली क्षेत्रमा रहेका हिमताल तथा हिम-चट्टानका संरचनाको नियमित स्थलगत अनुगमन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै चीनले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निरन्तर अनुगमन, मूल्यांकन र विश्लेषण गर्दै आएको जनाएको छ।

दूतावासका अनुसार सन् २०१५ को भूकम्पले हिमालयको दक्षिणी ढलोका चट्टानी संरचनामा समेत प्रभाव पारेकाले हिमाली क्षेत्रमा रहेका चट्टान तथा भू–संरचनाको जोखिम अझ अनिश्चित बनेको छ। साथै, ठाडो भिरालो क्षेत्रमा हुने भू–उपग्रह तस्बिरको त्रुटि तथा विशाल र जटिल भूभागमा उच्च शुद्धताका साथ निगरानी गर्नु अन्तर्राष्ट्रियस्तरमै चुनौती रहेको दूतावासको भनाइ छ।

चिनियाँ दूतावासले नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर सम्पर्क र समन्वय हुँदै आएको पनि जनाएको छ।

दूतावासका अनुसार यसै वर्ष मे महिनामा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद् सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने विषयमा महत्वपूर्ण प्रगति गरेको थियो।

त्यसैगरी, अगस्ट महिनामा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको Institute of Mountain Hazards and Environment को टोलीले वैज्ञानिक अनुसन्धान तथा आदानप्रदानका लागि नेपाल भ्रमण गरेको र चीनको हिमताल अनुगमनसम्बन्धी व्यावहारिक अनुभव नेपालसँग आदानप्रदान गरेको दूतावासले जनाएको छ।

अगस्ट २६ मै नेपालसँग आकस्मिक भर्चुअल बैठक

दूतावासले विशेष रूपमा अगस्ट २६ मा चीनको मौसम विज्ञान प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरेको जनाएको छ।

बैठकमा तत्कालीन विपद् अवस्थाको मूल्यांकन गर्नुका साथै मौसम तथा जलसम्बन्धी तथ्यांक एकैसाथ आदानप्रदान गरिएको दूतावासको भनाइ छ।

चीनले हाल पनि नेपालसँग जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान जारी राखेको र सीमा क्षेत्रमा रहेको ‘ब्यारियर लेक’ अर्थात् अवरोधयुक्त तालको अनुगमनसम्बन्धी तथ्यांकसमेत नेपालसँग साझा गरिरहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार चीनको मौसम विज्ञान प्रशासनले ‘MAZU’ नामक चिनियाँ Intelligent Meteorological Early Warning Solution अन्तर्गत नेपाललाई प्रारम्भिक अनुकूलित सेवा पनि उपलब्ध गराएको छ। यसले सीमापार विपद् सामना गर्ने नेपाल र चीन दुवैको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने दूतावासको भनाइ छ।

दूतावासले विपद् रोकथाम तथा व्यवस्थापनमा नेपालका आवश्यकताप्रति चीन गम्भीर र इमानदार रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सूचना आदानप्रदान र सहकार्य थप गहिरो हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ४ : ५५ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक