काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका हुन् ।
विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै उनले बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताए ।
“सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ । राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौँ”, उनले भने ।
उनका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज ५ः३० बजेसम्म सात हजार ५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ । जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फँसेका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ । उद्धारमा भारतीय र चिनियाँ विज्ञहरू नेपाली सेनासँगको समन्वयमा खटिएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिएका छन् ।
“हामीलाई प्राप्त सुझाव र गुनासोलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीको सङ्ख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन् । तर, भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन । ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ । उद्धारका क्रममा आवश्यकताअनुसार अन्तरराष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौँ”, उनले भनेका छन् ।
साथै सरकार प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेको उनको भनाइ छ । “अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडागरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ,” उनले लेखेका छन्, “काठमाडौँबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा दुई गरी पाँच स्थानबाट स्वास्थ्य सेवा दिइरहनुभएको छ ।”
















प्रतिक्रिया