१७ भदौ २०८३, बुधबार | September 2, 2026

यस्तो छ आज विभिन्न सडकको अवस्था



काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान जारी गरेको बुलेटिनमा पहिरो तथा बाढीका कारण कतिपय सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको र केही मार्गमा वैकल्पिक सडक प्रयोगको व्यवस्था गरिएको जनाएको छ ।

बुलेटिनका अनुसार धादिङको पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर यातायात पूर्ण रूपमा रोकिएको छ । सोही राजमार्गको गजुरी गाउँपालिका-२ परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटानमा परेपछि राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध छ । स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौं-टोखा-छहरे-विदुर-नुवाकोट दरबार-फलाँटे-चोकदे-लच्याङ-सरमथली-पाच्र्याङ-भोर्ले-कालिकास्थान-स्याउबारी-राम्चे-सोले-धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सिङ्गल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

नुवाकोटको विदुर-लाच्याङ सडकखण्डअन्तर्गत सूर्यगढी गाउँपालिका-१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । यस्तै, टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ ।

लमजुङको बेँसीसहर-मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरेभिरमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको नाग्म-गमगढी सडकखण्डमा पनि वर्षाका कारण ढुङ्गा, माटोसहितको लेदो आएपछि यातायात रोकिएको प्रहरीले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका-८ झुलाघाटस्थित गोठालापानी-झुलाघाट सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो भएपछि अवरुद्ध भएको सडक हाल साना सवारीसाधनका लागि सञ्चालनमा आएको छ ।

मकवानपुरमा भने विभिन्न राजमार्गमा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको प्रहरीले जनाएको छ । १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी तथा काठमाडौं जाँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारीसाधन तोकिएको पालोमा सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रहरीले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

यसैबीच, काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ८ : ४६ बजे

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु

यस्तो छ आज विभिन्न सडकको अवस्था

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा

भोटेकोशी बाढी : शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर