१७ भदौ २०८३, बुधबार | September 2, 2026

विपद्मा सरकारको साथमा छौँ, तर गलत कामको समर्थन गर्न सकिँदैन : कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारलाई साथ र सहयोग गर्ने आफ्नो पार्टीको स्पष्ट धारणा भए पनि सरकारका गलत काम र कमजोरीलाई समर्थन गर्न नसकिने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका तर्फबाट सम्बोधन गर्दै आङ्देम्बेले सरकारले राम्रो काम गर्दा साथ र समर्थन गर्ने, तर बाटो बिराउँदा प्रश्न उठाउँदै खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको बताए।

‘विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ गलत कामलाई समर्थन गर्नु होइन,’ उनले भने, ‘बाटो बिराउँदा खबरदारी र प्रश्न पनि हुन्छ। खास सहयोग यही होइन र ?’

प्रलयकारी बाढी आएको एक साता बितिसक्दा पनि खोज तथा उद्धार प्रभावकारी हुन नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाए। विपद्का बेला मौन बस्ने र सरकारलाई खबरदारी नगर्ने हो भने प्रतिपक्ष आफ्नो कर्तव्यबाट विमुख हुने उनको भनाइ थियो।

‘सबै ठीकठाक भइरहेको छ त ? जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ,’ उनले भने, ‘त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो।’

आङ्देम्बेले सरकारलाई कमजोर बनाउन नभई अझ प्रभावकारी बनाउन आफूहरूले प्रश्न गरिरहेको स्पष्ट पारे। उनले विपद्को समयमा सरकार प्रचारमा भन्दा नागरिकको ज्यान जोगाउने काममा केन्द्रित हुनुपर्ने बताए।

‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– यो प्रचार गर्ने समय होइन, प्राण बचाउने समय हो,’ उनले भने, ‘नागरिकको जीवनसँग जोडिएको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोस्।’

उनले विपद्पछिको सबैभन्दा खट्किएको विषय खोज तथा उद्धार नै रहेको बताए। विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइलाई उनले गम्भीर र अमानवीय विषयका रूपमा चित्रण गरे।

स्थलगत अवलोकनका क्रममा पीडित परिवारका गुनासा सुनेपछि आफू संसद्मा सरकारको कार्यशैलीबारे प्रश्न उठाउन बाध्य भएको उनले बताए।

‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्मा भन्न बाध्य भएको छु– सरकार सामाजिक सञ्जालमा अल्झियो,’ उनले भने, ‘जोखिममा रहेका समुदायसम्म समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउनभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो।’

उनले सरकारका मन्त्री तथा जिम्मेवार अधिकारीहरू विपद्को समयमा सामाजिक सञ्जालमा सक्रिय देखिए पनि आवश्यक प्राविधिक जनशक्ति, विज्ञता र उद्धारका साधन परिचालनमा अपेक्षित तत्परता नदेखिएको आरोप लगाए।

आङ्देम्बेले सरकारका मन्त्री तथा जिम्मेवार व्यक्तिहरूले उद्धार कार्यको प्रचार गर्नुभन्दा त्यसको प्रभावकारिता र परिणाममा ध्यान दिनुपर्ने बताए।

‘मलाई एउटा प्रश्नले घोचिरहेको छ– यदि मन्त्रिपरिषद्का सदस्यहरूकै परिवार वा आफन्तको कोही यस्तो विपद्मा परेको भए, मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि माटो खोस्रेको फोटो–भिडियो खिचेर “वाह मन्त्रीजी” भन्ने पोस्ट गरिरहनुहुन्थ्योरु’ उनले प्रश्न गरे।

उनले विपद्का बेला राजनीतिक पूर्वाग्रहभन्दा नागरिकको जीवन र उद्धारलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे। सरकारका कमजोरी औँल्याउनु प्रतिपक्षको राजनीतिक विरोध नभई नागरिकप्रतिको दायित्व भएको उनको भनाइ थियो।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : ३४ बजे

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश

पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्डसडक यही

विपद्मा सरकारको साथमा छौँ, तर गलत कामको समर्थन गर्न सकिँदैन : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

काठमाडौं । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम